कात्तिक १३, काठमाडौं । कञ्चनपुरको महेन्द्रनगर–नयाँ दिल्ली नेपाल भारतमैत्री बस सेवा पुनः सञ्चालन भएको छ। कोरोनाको संक्रमणका कारण १९ महिनादेखि बन्द भएको बस सेवा शुक्रवारदेखि पुनः सुरु भएको हो।
भारतको उत्तरप्रदेश परिवाहनको बस यात्रु बोकेर महेन्द्रनगर आइपुगेको छ। बसलाई महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तसहितका बस व्यवसायीहरुले स्वागत गरेका छन्।
शुक्रबार बिहान आइपुगेको बसले साँझ ६० जना यात्रु बोकेर नयाँ दिल्लीतर्फ प्रस्थान गरेको अध्यक्ष पन्तले बताए। बसको परमिट बनाई एक दुई दिनभित्रै महेन्द्रनगरबाट समेत बस नयाँ दिल्लीका लागि सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए। अध्यक्ष पन्तले सीमा क्षेत्रमा भारतबाट नेपाल आउने बसले झन्झट व्यहोर्नु पर्ने अबस्था रहेको बताए।
‘नेपालबाट भारत जाँदा यात्रुहरुले पिसिआर रिपोर्ट देखाउनु पर्दैन’ उनले भने, ‘नेपाल आउँदा बस चालक सहितले पिसिआर रिपोर्ट र स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्छ।’ सहजीकरणका लागि गृह र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको उनले बताए।
कोरोना महामारी फैलिनुअघि महेन्द्रनगरबाट नयाँ दिल्ल र देहरादुनका लागि दैनिक नौ वटा बस सञ्चालन हुँदै आएका थिए। कोरोनाका कारण बस सेवा बन्द भएदेखि यात्रुले सास्ती खेप्दै आएका छन्।