• २०८२ बैशाख ९ गते मङ्गलवार

पहिरोले गुल्मीमा कतै सडक अवरुद्ध‚ कतै घरगोठ पुरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १३ गुल्मी । लगातारको वर्षाका कारण गएको पहिरोले गुल्मीमा सडक अवरुद्ध भएका छन्। घर तथा गोठ भत्किएका छन्। गोठ भत्किँदा चौपाय मरेका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी करिडोरअन्तर्गत रिडी रुद्रबेनीको सडकको साँघुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। करिडोरअन्तर्गतको हर्मिचौरदेखि पुर्तिघाट जाने सडकमा पनि ठाउँठाउँमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै‚ ग्रामीण सडकहरुमा पनि पहिरो खसेर अवरुद्ध भएका छन्। लगातार पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।

धुर्कोट गाउँपालिका–५ बस्तुमा कृष्ण कुँवरको घर र गोठ भत्किएको छ। गोठ भत्किदा दुईवटा भैंसी र दुईवटा बाख्रा पुरिएका छन्। घर भत्किएकाले कुँवरको परिवारलाई आफन्तको घरमा सुरक्षित सारिएको प्रहरीले जनाएको छ।

यस्तै‚ मुसिकोट नगरपालिका–८ ठूलोखर्कका नरबहादुर पौडेलको गोठ भत्किँदा एउटा भैसी र पाडाको मरेका छन्। गुल्मीदरबार गाउँपालिका–३ का कमलबहादुर कुँवरको टिनले छाएको घर भत्किएको छ। उनको परिवारलाई छिमेकीको घरमा सारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

अविरल वर्षा भइराखेकाले सुरक्षित र सर्तक रहन जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह गरेको छ। कही कतै समस्या भए नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न पाण्डेले आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस