असोज १२,सर्लाही । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सर्लाहीका आठवटा नेपाल–भारत सीमानाका खोल्ने निर्णय गरेको छ।
नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटा नाकाबाट आवतजावत गर्न दिने निर्णय गरेको हो। बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रह्मपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाकाखुलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।
नेपालको तर्फबाट नाका खुलाउने निर्णय भएको र यसका लागि भारतीयतर्फ पनि समन्वय गर्न आफूले पहल गरेको प्रजिअ महताले बताए। ‘नेपालको तर्फबाट मात्रै नाका खोलेर हुँदैन, भारततर्फबाट पनि खुला गरेपछि मात्रै सहज आवतजावत हुनसक्छ,’ प्रजिअ महतोले भने, ‘यसबारे मैलेसीतामढी जिल्लाका जिल्ला अधिकारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ।’
प्रत्येक नाकामा स्थानीय तहले हेल्थ डेक्स स्थापना गर्ने र स्वास्थ्य कार्यालयमार्फत एन्टिजेन परीक्षण गर्ने निर्णय भएको महतोले बताए।
डिसिसिएमसीले बैठकले नेपाल–भारत सीमानाका खुलाउने निर्णय गरे पनि अहिलेसम्म नाका खुलेको छैन। कोरोना संक्रमणका कारण २०७६ चैतदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिएको छ। मुख्य नाकाहरुमा ढाट तेर्साइएकाले सीमा क्षेत्रका वासिन्दा खोलाखोल्सी तथा खेतबारीको बाटोबाट नेपाल–भारत आवतजावत गरिरहेका छन्।