• २०८१ बैशाख ७ गते शुक्रवार

जावलाखेलको लगातार दोस्रो सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस १२,काठमाडौं । विपीन कँडेल र निकोलस फर्नान्डेजको गोलमा जावलाखेल युथ क्लबले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहरी प्रतिद्वन्द्वी सातदोबाटो युथ क्लबलाई २–० ले हराएको छ । जारी लिगमा जावलाखेल युथको यो लगातार दोस्रो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जावलाखेलले ५०औं मिनेटमा बैकल्पिक खेलाडी विपीनको गोलबाट अग्रता लिएको थियो । विपीन ४६ औं मिनेटमा सुरजज्यू ठकुरीको ठाउँमा मैदान छिरेका थिए । ७०औं मिनेटमा जावलाखेलले फर्नान्डेजको गोलबाट अग्रता दोब्बर बनायो । विदेशी खेलाडी फर्नाण्डेजले पेनाल्टी क्षेत्रबाहिरबाट हानेको प्रहारलाई सातदोबाटोका गोलरक्षक अभिषेक बरालले रोक्न सकेनन् ।

यससँगै जावलाखेलले लगातार दोस्रो जित निकालेको छ भने अविजित यात्रा तीन खेलसम्म लम्बाएको छ । जावलाखेल लगातार पहिलो तीन खेलमा पराजित भएको थियो । त्यसपछि चौथो खेलमा फ्रेण्ड्स क्लबसँग ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको जावलाखेले पाँचौं चरणमा च्यासल युथलाई १–० ले हराएको थियो ।

लगातार दोस्रो जितसँगै जावलाखेलले ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । सातौं स्थानको थ्री स्टार र आठौं स्थानको न्यरोड टिम एनआरटी० को पनि समान सात अंक छ । तर, गोल अन्तरमा जावलाखेल पछि परेको हो । सातदोबाटो समान खेलबाट ८ अंकसहित पाचौं स्थानमा यथावत छ । हिमालयन शेर्पा र सातदोबाटोको समान आठ अंक छ । गोल अन्तरमा सातदोबाटो अगाडि छ ।

नव प्रवेशी सातदोबाटोको यो दोस्रो हार हो । सातदोबाटो यसअघि एनआरटीसँग १–० ले हारेको थियो । सातदोबाटोले फ्रेण्ड्स र त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो भने एपीएफ र थ्री स्टारलाई हराएको थियो ।

यससँगै शीर्ष डिभिजन लिगमा छैटौं चरणका खेल सकिएको छ । छैटौं चरणको खेल सकिँदा १४ अंकका साथ मछिन्द्र शीर्ष स्थानमा छ । १३ अंक जोडेको मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा छ । १२ अंक जोडेको संकटा तेस्रो र १० अंक जोडेको त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ । तीन अंक जोडेको फ्रेण्ड्स पुछारमा छ भने चार अंक जोडेको च्यासल युथ १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस