बैशाख १४, काठमाडौँ । नेकपा माओवादी केन्द्रले कोरोना माहामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले यस्तो माग राखेको हो ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक समाज, स्वाथ्यकर्मी, जनस्वास्थ्यविद् सबै एकताबद्ध भएर हातेमालो गर्दै अघि बढ्न अपील गरेको छ । कोभिड महामारीका कारण मजदुर, किसान र विपन्नलाई छाक टार्न नै समस्या हुने अवस्था आउने भन्दै माओवादी केन्द्रले राहत प्याकेज ल्याउन पनि माग गरेको छ ।
यस्तै बैठकले भारतमा संक्रमण बढेकाले सीमाहरुमा कडाईपूर्वक नियन्त्रण गर्न र नेपाल आउनेलाई परीक्षण लगायतका मापदण्ड पूरा गर्न मात्र आउन दिन आग्रह गरेको छ । माओवादी केन्द्रले डेडिकेटेड कोभिड–१९ अस्पताल बनाउन, अक्सिजन, आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न, स्वास्थ्य सामग्रीको जोहो गर्न र फ्रन्टलाइनमा रहेकाहरुका लागि काम गर्ने उपयुक्त वातावरण सुनिश्चित पनि माग गरेको छ ।