• २०८१ चैत्र ५ गते बुधवार

कोरोना बढेपछि फर्किन थाले नेपालीहरु, जमुनहा सिमामा छैन कुनैपनि सतर्कता

महेन्द्र सिंह पढ्न लाग्ने समय : ३ मिनेट

चैत १४, बाँके । बबई गाउँपालिका–५, जलुके दाङका चेतबहादुर बुढा नेपालगन्ज नाकाबाट नेपाल भित्रिए । उनलाई नेपालगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कसैले नरोकेपछि सरासर नेपालगन्ज भित्रिएको उनले बताए ।
भारतको चण्डीगढमा चौकीदारको काम गर्ने उनी लकडाउन खुकुलो भएपछि कामको खोजीमा पुनः चण्डीगढ गएका थिए । कोरोनाका कारण भारतका विभिन्न सहरमा लकडाउन हुन थालेपछि हतार हतार घर फर्किएको उनले खबर 24 नेपाल डटकमलाई बताए । गहुँ स्याहार्ने, मकै छर्ने बेला भएको छ । ‘लकडाउन भयो भने घर आउन पाइदैन भन्ने लागेर हतार हतार घर फर्किएँ,’ उनले भने ।

भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेपछि कामका लागि भारतमा रहेका नेपाली डराएको उनले बताए । गत बर्ष जस्तै कोरोनाको महामारी फैलिन सक्ने भन्दै धेरै नेपालीले घर फर्किने मनस्थिती बनाएको उनको भनाई छ । धेरै नेपाली हेर र पर्खको अवस्थामा छन् । लकडाउन हुने संकेत देखिने वित्तिकै घर फर्किन मनस्थितीमा नेपाली छन्,’ उनले भने ।

नलगाड नगरपालिका–१२, जाजरकोटका मोती विक पनि नेपालगन्ज नाका भएर नेपाल आएका छन् । भारतको पञ्जावस्थित एक कम्पनीमा कार्यरत उनी पनि कोरोनाको सन्त्रासका कारण स्वदेश फर्किएका हुन् । १० चैत विहान नेपालगन्जमा फेला परेका उनले भारतमा कोरोना संक्रमण दर बढेपछि आत्तिएर नेपाल आएको बताए । उनी पनि नाकामा कुनै परीक्षण नगरि नेपाल भित्रिएको बताए । ‘कोरोना संक्रमण बढ्ने क्रम नरोकिए लकडाउन हुने हल्ला छ । गत बर्षको जस्तै बेहाल हुने डरले हतार हतार स्वदेश फर्किएँ,’ उनले भने, ‘नाकामा स्वास्थ्य परीक्षण हुन्छ भन्ने लागेको थियो, तर यहाँको हेल्थ डेस्कमा कोही पनि थिएनन् । सरासर नेपालगन्ज पुग्यौँ ।’

अहिले भारत जानेभन्दा स्वदेश फर्किने नेपालीको संख्या धेरै भएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख विष्णु गिरिले बताए । भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क राख्ने सुने पनि अहिलेसम्म काम सुरु नभएको उनले बताए । गत बर्ष स्थापना गरिएको हेल्थ डेस्क पनि प्रयोग विहिन जस्तै छ । खुले पनि कर्मचारी बस्दैनन्,’ उनले भने ।
उनले दैनिक सरदर सात सय नेपाली भारतबाट स्वदेश फर्किने गरेको बताए । लकडाउनको हल्लासँगै अन्नपात स्याहार्ने समय भएकोले पनि

नेपाली आउने क्रम बढेको गिरीको भनाई छ । अन्नपात स्याहार्ने र धान रोप्ने, मकै छर्ने समय हो । यो समयमा कामका लागि भारत गएकाहरु फर्किने समय पनि हो, तर फर्किने नेपालीमा लकडाउन र कोरोनाको सन्त्रास पनि देखिन्छ गिरिले भने ।

नाकामा अझैँ स्थापना भएन हेल्थ डेस्क
भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएपछि सरकारले नाकामा कडाई गर्न भनेको छ । तर, सरकारको निर्देशनको बेवास्ता गरि नेपालगन्ज उपमहानगरले अहिलेसम्म नाकामा हेल्थ डेस्क संचालनमा ल्याएको छैन ।

नेपाल–भारत सीमा नाका जमुनाहस्थित हनुमानगढी मन्दिर परिसरमा हेल्थ डेस्कका लागि त्रिपाल राखे पनि काम सुरु भएको छैन । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्यावसुविधा भएको हेल्थ डेस्क संचालन गरिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस