पौष ११,काठमाडौं । प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पाकेटमारी गर्ने गरेको आरोपमा २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई पक्राउ गरेको हो । उनीहरू भारतीय नागरिक हुन् ।
पक्राउ परेकाहरूसँग सोधपुछ गर्दा यसअघि मनकामना र पोखरालगायत ठाउँमा बसेर पनि पाकेटमार गर्ने गरेको उनीहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ । उनीहरू पशुपतिनाथ परिसरभित्र पाकेटमार गर्ने र जयबागेश्वरीस्थित सित्तला गेस्ट हाउसमा बस्ने गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । उक्त गेस्ट हाउसको १०८ कोठामा उनीहरू बस्ने गर्दथे ।
उक्त कोठा चेकजाँच गर्दा आइफोनसहित ५ थान मोबाइल, पर्स दुई थान र चक्कु एक थान पनि बरामद भएको र उनीहरूलाई थप अनुसन्धानका लागि गौशाला प्रहरीमा राखिएको छ ।