असोज १०, बाँके । सशस्त्र प्रहरी बाँकेले नेपालगन्जका दुई वटा अवैध सिमा नाकाबाट भन्सार छली गरेर ल्याउदै गरिएका सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र नेपालगन्ज भन्सारस्थित जमुनहा बिओपीबाट खटिएको गस्ती टोलीले लाखौं रुपैयाँ बढीको भन्सार छली गरेर ल्याउदै गरिएका लत्ताकपडा,सुर्तीजन्य सामाग्री लगायतका अवैध सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिपराबाट भारतबाट नेपालगन्ज तर्फ ल्याउदै गरिएका १ लाख ५ हजार रुपैयाँ बराबरका लत्ताकपडा,सुपर पावर सुर्ती लगायत अन्य किराना सामाग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। भारतबाट अवैध सामाग्री ल्याइरहेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्नासाथ सबै सामाग्री छोडेर भारततर्फ फरार भएका थिए।
सशस्त्र प्रहरी बल जमुनहा बिओपीद्वारा पनि सामाग्री बरामद
नेपालगन्ज भन्सारस्थित सशस्त्र प्रहरीको जमुनहा बिओपीबाट सशस्त्र प्रहरी सूचना अधिकृत प्रहरी नायब निरीक्षक योगेन्द्र शाही ठकुरीको कमान्डमा गएको टोलीले नेपालगन्ज १५ टंकपसेरी नाकाबाट भारतबाट ल्याउदै गरेको १ लाख ९ हजार रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ। बिशेष सूचनाका आधारमा आज बिहान ११:४५ बजे नायब निरीक्षक ठकुरीको कमान्ड गएको टोलीले लत्ताकपडा, बच्चाका खेलौना र किराना सामाग्रीहरु बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके र जमुनहा बिओपीले बरामद गरेका सबै अवैध सामाग्रीलाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।