• २०८१ असार ३ गते आइतवार

ब्युँताइँदै कोभिड अस्पताल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १० मिनेट

चैत १२, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ। स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टाइनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।

प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड—१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो। तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘संक्रमण देखिएपछि मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ’, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चौलागाईंले भने, ‘बिरामी आउनासाथ राख्न समस्या हुन दिनेछैनौं।’

करारका चिकित्सक, नर्स र पारामेडिकललाई फागुन २८ गते हटाइएको थियो । मेडिकल अफिसर ८, स्टाफ नर्स ८, एचए ८, स्विपर ३, इलेक्ट्रिकल र प्लम्बर ४, बायोमेकानिकल इन्जिनियर १, कार्यालय सहायक ९ र १ जना गार्ड थिए।

अस्पतालका निमित्त संयोजक एपोलोकुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए। ठूलो लगानीको अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले विभिन्न तहका ४१ कर्मचारी नियुक्त गरेको थियो। नेसनल ट्रेडिङको भवनमा प्रदेश सरकारले सुरुमा ८० बेडको अस्पताल सञ्चालन गरेको थियो। आईसीयू ८, एचडीयू २२ र रिकभरी १२ बेडसहितको अस्पतालमा कोभिड महामारीका बेला दैनिक ४० देखि ६० जना बिरामी आउने गरेका थिए।

झापाको मेची प्रादेशिक अस्पतालको नयाँ भवनमा राखिएको जिल्लाको एक मात्र कोभिड अस्पताल पनि संक्रमितको संख्या घटेसँगै बन्द थियो। उक्त अस्पतालमा बुधबारसम्म पनि ताला लागेको छ। तर, संक्रमण बढे पुनः सञ्चालन गर्न सम्बन्धित निकाय खटिएका छन्। अस्पतालमा कोभिड—१९ संक्रमितका लागि चाहिने सम्पूर्ण संरचना यथावस्थामा रहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए। शाहीका अनुसार आवश्यक परे जुनसुकै बेला अस्पताल कोभिडका बिरामी राख्न तयार छ।

संक्रमितको उपचार गर्न मेची प्रादेशिक अस्पतालकै फिजिसियन डा. गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्य समिति गठन गरिएको थियो। अस्पतालमा करिब ५० वटा आइसोलेसन बेड छन्। कोभिड अस्पताल हेर्दै आएका स्वास्थ्यकर्मी बिरामी शून्य भएपश्चात् प्रादेशिक अस्पतालमै फर्केका थिए। ‘आवश्यक परेका बखत स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउन सकिन्छ’, अस्पताल विकास समितिका अध्यक्ष एवं जिसस प्रमुख सोमनाथ पोर्तेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘अस्पताल बन्द भएको छैन, बिरामी नभएकाले मात्र नखोलिएको हो।’

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको कोभिड अस्पताललाई थप व्यवस्थित गरी सञ्चालन गरिने भएको छ। भारतसँग सिमाना जोडिएको सुनसरीमा संक्रमितको संख्या वृद्धि हुन थालेपछि उच्च सतर्कता अपनाउन सबैलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। ढकालले कोभिड अस्पताल तयारी अवस्थामा राख्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएको सुनाए। प्रतिष्ठानको कोभिड अस्पतालमा बिरामी भर्ना गर्न र भर्ना भएका बिरामीको उपचार गर्न आवश्यक चिकित्सक, नर्स र कर्मचारी तयारी अवस्थामा राख्न भनिएको उनको भनाइ छ।

प्रतिष्ठानको कोभिड अस्पतालमा १५ आईसीयू, २५ एचडीयू र ६० नर्मल बेड तयारी अवस्थामा रहेको प्रतिष्ठानका प्रवक्ता डा. चूडामणि पोखरेलले बताए। उनका अनुसार चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ।

लुम्बिनीमा तयार छन् अस्पताल
लुम्बिनी प्रदेशमा४ कोरोना विशेष अस्पतालमा १८ जना उपचाररत छन्। तीबाहेक अन्य ६ अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि अन्य तयारी गरिएको छ। सामाजिक विकास मन्त्रालयमातहत आईसीयूसहितका ४ कोरोना विशेष अस्पताल सञ्चालनमा छन। बुटवल, भैरहवा, दाङ र नेपालगन्जमा आईसीयू र भेन्टिलेटरसहितका अस्पताल छन्। मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले अस्पताललाई तयारी अवस्थामा राखी जनशक्ति व्यवस्थापनको काम भइरहेको बताए।

यो प्रदेशको धेरै सीमा भारतसँग जोडिएकाले उच्च जोखिम छ। भारतबाट नेपाल आएका कोही पनि व्यक्तिमा संक्रमण नदेखिएको डा. पौडेलले बताए। ‘हामीले भारतबाट आउनेको विवरण सीमामै राखेका छौं’, उनले भने, ‘भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएको छैन।’ यो प्रदेशमा रूपन्देहीको बेलहिया, बाँकेको जमुनिहवा, कपिलवस्तुको कृष्णनगर र नवलपरासीको महेशपुर नाकाबाट बढी आवातजावत हुने गरेको छ। अन्य साना नाकाबाट पनि आउने क्रम जारी छ। कतिपय लुकेरै प्रवेश गर्ने गरेका छन्।

संघीय सरकारले हरेक स्थानीय तहलाई भारत यात्रा विवरण भएकालाई घरकै क्वारेन्टाइनमा राख्न परिपत्र गरेको छ। स्थानीय तहले सोहीबमोजिम काम गरिरहेका छन्। रूपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलेजस्तै महामारी रोकथाममा स्थानीय तह काम गर्न सक्षम रहेको बताए। ‘हामीले निगरानी थालिसकेका छौं, कार्कीले भने। बुटवलस्थित धागो कारखानामा अस्थायी कोरोना अस्पताल छ। महामारीका बेला यही अस्पतालले धेरै भार थेगेको थियो। यो अस्पताल पहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सीमामा भित्रिने नागरिकमा लक्षण देखिए एन्टिजेन परीक्षण गर्ने निर्णय भएको बताए। ‘आउनेको अनिवार्य स्वास्थ्य परीक्षण र अभिलेख राखिनेछ’, उपाध्यायले भने, ‘लक्षण देखिए एन्टिजेन परीक्षण हुन्छ।’ एन्टिजेन परीक्षणमा पोजिटिभ आएका तर सामान्य अवस्थाका बिरामीलाई १० दिन घरमै बस्न निर्देशन दिइएको छ। लक्षण बढी भए भेरी अस्पतालमा राख्ने तयारी छ।

भेरी अस्पतालमा दुई सय बेड राखिएको छ। यो बेडले अपुग भए कोहलपुरस्थित मेडिकल कलेजमा बिरामी राखिने उपाध्यायले बताए। मेडिकल कलेजमा यसअघि रहेको कोरोना बेडलाई बिरामीको संख्या कम भएपछि हटाइएको थियो। दाङको बेलझुन्डीमा आयुर्वेद औषधालयको बेड कोरोनाका बिरामीका लागि प्रयोग हुेनछन्। यी अस्पताल तयारी अवस्थामै रहेकाले संक्रमण बढे पनि केही समय समस्या नहुने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदीले संक्रमण फैलिन थालेकाले उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। ‘संक्रमण बढ्दो छ, स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्नुपर्छ’, खोपसम्बन्धी बैठकमा सुवेदीले भने। सरकारले होली पर्व मनाउँदा सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यकबाहेक भारत नजान निर्देशनसमेत जारी गरिएको छ।

क्वारेन्टाइन, आइसोलेसन बन्द
कोरोना महामारीका बेला खोलिएका क्वारेन्टाइन र आइसोलेसन बन्द छन्। सरकारले कात्तिकमा विद्यालयहरूमा बनाइएका क्वारेन्टाइन खाली गरी पठनपाठन सुरु गर्न निर्देशन दिएको थियो। त्यससँगै स्थानीय तहहरूले सञ्चालन गरेका क्वारेन्टाइन बन्द गरेका हुन्। तर, भारतमा फेरि कोरोना फैलिरहँदा त्यता रहेका नेपाली फर्किन थालेका छन्। तर, सीमा नाकाबाटै क्वारेन्टाइनमा पठाउने वा कोरोना देखिएकाहरूलाई आइसोलेसनमा राख्ने व्यवस्थापन हुन सकेको छैन।

पछिल्लो एक सातामा कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ११ र कञ्चनपुरको गड्डाचौकी नाकाबाट फर्किएका ३ जनामा एन्टिजेन पोजेटिभ देखिएको छ। कैलालीमा एन्टिजेन पोजिटिभ देखिएका व्यक्तिहरूमा कोरोना पनि पोजिटिभ देखिएको छ। तर उनीहरूमा नयाँ भाइरस हो वा पुरानो भन्ने खुलेको छैन।

‘११ जनाको कोरोना जाँचमा पोजेटिभ नतिजा आएको छ। तीमध्ये ३ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ’, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने। सेती प्रादेशिक अस्पतालको ५० बेडको आइसोलेसन छ। ती बिरामीलाई त्यही भर्ना गरिएको अस्पतालले जनाएको छ। तर, कञ्चनपुरमा गत वर्ष संक्रमित होम आइसोलेसन र महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा बस्ने व्यवस्था मिलाइएको थियो। कञ्चनपुरमा केही महिनायता कोरोना संक्रमण शून्य भएपछि महाकाली अस्पतालको आइसोलेसन बन्द छ। मंगलबार मात्रै भारतको महाराष्ट्रबाट फर्किएका कञ्चनपुरको पुनर्वासका एक पुरुषमा एन्टिजेन पोजेटिभ देखिएपछि महाकाली अस्पतालको आइसोलेसनमा राखिएको हो। त्यसअघि पोजिटिभ देखिएका दुई जनालाई अस्पतालको आइसोलेसन बन्द हुँदा घर पठाइएको थियो।

संक्रमित नरहेकाले केही समय आइसोलेसन बन्द गरिए पनि बिरामी आउनेबित्तिकै सञ्चालनमा आउने महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले बताए। ‘बीचमा कोरोनाको बिरामी नभएकाले आइसोलेसन बन्द थियो’, भट्टले भने, ‘आइसोलेसन तयार भइसकेको छ।’ महाकाली अस्पतालमा एक जना एन्टिजेन पोजेटिभलाई राखिएको छ। अस्पताल स्रोतका अनुसार यसअघि कोरोना संक्रमित नहुँदा आइसोलेसनलाई गोदाम बनाइएको थियो। बुधबार मात्रै अस्पतालमा बैठक बसेर आइसोलेसन कक्ष तुरुन्त खाली गर्ने निर्णयसमेत गरिएको छ।

कोरोनाका बिरामी बोक्ने महाकाली अस्पतालको एम्बुलेन्स बिग्रिएको छ। यसअघि कञ्चनपुरका ९ वटै स्थानीय तहले आआफ्नो क्षेत्रका विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन गरेका थिए। गड्डाचौकी नाकाबाट भित्रिएका प्यूठान, बझाङ र बैतडीका गरी तीन जनाको पनि दुई दिनअघि मात्रै एन्टिजेन रिपोर्ट पोजेटिभ देखियो। उनीहरूमध्ये बैतडीका एक जना महेन्द्रनगरमा आफन्तको घरमा आइसोलेसनमा बसेका छन्। दुई जना भने क्वारेन्टिनर आइसोलेसनको अभावमा सार्वजनिक गाडी चढेर घर गएका थिए। संक्रमितलाई क्वारेन्टिन तथा आइसोलेसनसम्म पुर्‍याउन एम्बुलेन्स नहुँदा समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ। संक्रमणदर घटेसँगै व्यवस्थापनमा ध्यान नदिएकाले फेरि कोरोना परीक्षण तथा आइसोलेसनको व्यवस्थापन गर्न समस्या देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।

भारतबाट नेपाली फर्किने नाकाहरूसँग सीमा जोडिएका स्थानीय तहले क्वारेन्टाइन र आइसोलेनस व्यवस्थापन गर्न थालेको जनाएका छन। भारतबाट फर्किने नेपालीको संख्या बढे विद्यालयमै क्वारेन्टाइन सञ्चालन गरिने स्थानीय जनप्रतिनिधिको भनाइ छ। ‘हामीलाई पहिलो चरणको कोरोनाको अनुभव पनि छ। अहिले नेपालीहरू फर्किने क्रम बढेको छ। क्वारेन्टाइन र अस्थायी आइसोलेसनको जानकारी हामीसँग छ। भारतबाट मानिसहरूको चाप हुनेबित्तिकै सञ्चालनमा ल्याउने तयारी छ’, धनगढी उपमहानगरपालिकाका कोभिड उपसमितिका संयोजक नारायण बरालले भने।

सुदूरपश्चिमका कैलाली कञ्चनपुर, बैतडी र दार्चुलाका नाकाहरूमा स्वास्थ्यकर्मी परिचालन गरी भारतबाट फर्किनेहरूको एन्टिजेन टेस्ट गरिन थालिएको छ। पहिलो चरणको कोरोनाका बेला सीमा नाकाको अस्तव्यस्तता नदोहोर्‍याउने प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए। ‘कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किने नेपालीहरूको एन्टिजेन परीक्षण भइरहेको छ। पोजेटिभ देखिएकाहरूलाई नजिकको अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ’, मन्त्री सुवेदीले भने।

भारतका विभिन्न राज्यमा कोरोनाका संक्रमितको संख्या बढिरहेको र त्यसै अनुपातमा मृतकको संख्या पनि उकालो लागेपछि सुदूरपश्चिमका तराईका जिल्लामा त्रास देखिएको छ। कञ्चनपुरमा मंगलबार र कैलालीमा बुधबार स्थानीय प्रशासनले भारतमा कोरोनाका बिरामी बढेकाले सीमा नाकामा कडाइका साथै जिल्लाभित्र पनि भीडभाड नगर्न निर्देशन जारी गरेका छन्। ‘नजिकै आइरहेको फागु पर्वका अवसरमा भीडभाड नगर्न, नगराउन अनुरोध गरिन्छ’, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको अपिलमा उल्लेख छ। स्थानीय प्रशासनले हरेक स्थानीय तह, सीमा नाकामा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न अनुरोध गरेका छन्। ‘सरकारी कार्यालय, निकाय, संघसंस्था वा शैक्षिक संस्थाहरूमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको सुरक्षाका लागि भरपूर प्रयास गर्न अनुरोध छ’, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले अनुरोध गरेका छन।

गण्डकी प्रदेशमा पनि सतर्कता अपनाइएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बताए। भारतीय सीमा क्षेत्र नवलपुरसहित अन्य जिल्लामा पनि सतर्कता अपनाइएको डा. शर्माको भनाइ छ। उनका अनुसार कोरोना संक्रमणको अवस्था हेरी अस्पतालको व्यवस्था गर्ने गरी प्रदेश सरकारले संक्रामक रोग अस्पतालमा मात्र संक्रमितको उपचार भइरहेको छ।

पछिल्लो समय सबै जिल्ला अस्पताललाई कोभिडका बिरामी नराख्न, कोरोनापूर्वकै अवस्थामा चलाउन भनिएको उनले सुनाए। संक्रामक रोग अस्पतालमा ५० जना बिरामी मात्र राख्न सकिन्छ। उनले कोरोना संक्रमण बढ्दै गए जिल्ला अस्पताल पनि पहिलेजस्तै गरी सञ्चालनमा ल्याइने बताए। जिल्ला अस्पताल तयारी अवस्थामा रहेको र अस्पतालमा अक्सिजनसहितको व्यवस्था रहेको पनि उनले सुनाए। उनका अनुसार पहिलेका आइसोलेसनलाई पनि तयार पारिएको छ। कोरोनाबारे सबै जानकार रहेकाले त्यहीअनुसार सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ।

कास्कीमा पछिल्लो समय सबैभन्दा धेरै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ। ७ सय ५१ जनामा गरिएको स्वाब परीक्षणमा ७५ जनामा कोरोना देखिएको क्याम्पसका सूचना अधिकारी खेम पुलामी मगरले बताए। चैत १ गते एक विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि आफै निजी ल्याबमा कोरोना परीक्षण गरेका थिए। लक्षण देखिएका विद्यार्थीमा चैत २ गते संक्रमण पुष्टि भएको थियो।

क्याम्पसका ४५ विद्यार्थी फागुन १९ देखि २१ गतेसम्म फिल्ड भिजिटमा विराटनगर र जनकपुर गएका थिए। कलेजका विद्यार्थीमा एकै पटक कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भन्न नकिने सूचना अधिकारीले बताए। कोरोना संक्रमण भएका सबै विद्यार्थी क्याम्पसकै आइसोलेसनमा रहेको र सबैको स्वास्थ्य राम्रो रहेको सूचना अधिकारी मगरले बताए।

मकवानपुरमा हाल तीन जना सक्रिय संक्रमित छन्। हेटौंडास्थित आइसोलेसन तयारी अवस्थामा रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए। उनका अनुसार संक्रमित थपिए आवश्यकताअनुसार व्यवस्थापन गर्न सकिने अवस्था छ। हेटौंडा अस्पतालमा स्थायी पीसीआर ल्याब सञ्चालनमा छ।
स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौंलाले बताए। सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनलाई तयारी अवस्थामा राख्ने निर्णय भएको बताए।

एक वर्षअघि जिल्लामा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेसन जोखिम कम हुँदै गएपछि हटाइएको थियो। पुनः कोरोना जोखिम बढेपछि जिल्लामा क्वारेन्टाइन र आइसोलेसन पुनःस्थापना तथा स्वास्थ्य सतर्कताका अपनाउन आवश्यक सम्पूर्ण कार्य तत्काल गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए।

सिन्धुलीमा १ सय ३३ वटा आइसोलेसन र पाँच सयभन्दा बढी क्वारेन्टाइन स्थापना गरिएको थियो। ‘क्वारेन्टाइन हटाएर विद्यालय सञ्चालनमा आएका छन्। हामी फेरि सम्भावित जोखिमलाई मध्यनजर गरेर पूर्वतयारीमा लागेका छौं’, शाहले भने। उनका अनुसार सिन्धुलीमा ४७ बेडको आइसोलेसन सिन्धुली सदरमुकाममा सञ्चालनमै छ। आईसीयू र भेन्टिलेटर सुविधा भएको ४७ बेडको कोभिड—१९ युनिट अस्पतालको ४७ बेड तयारी अवस्थामा भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताए।

धादिङमा सञ्चालित आइसोलेसन तयारी अवस्थामा नरहेको पाइएको छ। आइसोलेसन वार्डहरू भने स्वास्थ्य संस्थामै गाभिएका छन्। जिल्ला स्वास्थ्य प्रमुख डा. भुवन पौडेलले भने, ‘विद्यालय भवन, सामुदायिक भवनजस्ता ठाउँहरूमा सञ्चालिन आइसोलेसन वार्डहरूलाई निर्मलीकरण गरी स्थानीय स्वास्थ्य संस्था र पालिकाहरूमा राखिएको छ। अब त्यसैलाई पुनः परिचालन गर्ने योजना कोभिड व्यवस्थापन समितिले लिएको छ।’

धादिङ जिल्लामा गत माघको २९ गतेसम्म १ सय ६० बेडको आइसोलेसन क्षमता रहेको भए पनि सक्रिय बिरामी भेटिन छाडेसँगै आइसोलेसन वार्डहरू पनि बन्द गरिएको थियो। अहिले कोही संक्रमित व्यक्ति भेटिएको खण्डमा राख्ने आइसोलेसन धादिङमा छैन। संक्रमित व्यक्ति आफैंले व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन केन्द्र धादिङको बुधबारको बैठकले सबै पालिकामा क्वारेन्टिन र आइसोलेसन भवन तयारी अवस्थामा राखिने निर्णय गरेको छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस