मङ्सिर ८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले पार्टीको आसन्न १४औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कांग्रेसको रूपान्तरणदेखि सबै तहका निर्वाचनमा पार्टीको जित सुनिश्चित गराउने आफ्ना विभिन्न एजेण्डाका साथ उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । विसं २०३८ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँसँग यसअघि कांग्रेसको दुई पटक पार्टीको केन्द्रीय सदस्य र दुई पटक सांसद भएको अनुभव छ ।
सामाजिक सेवामा समर्पित सांसद लामा नेपाल निर्माण व्यवसायी महासङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । उहाँ कांग्रेसले महाधिवेशनलाई सफल बनाउन गठन गरेको आर्थिक समितिको सदस्यसमेत हुनुहुन्छ । सांसद लामाले गोरखा भूकम्पका बेला पीडितलाई गरेको सहयोग, जिल्लाको विकास निर्माण, धार्मिक तथा सांस्कृतिक र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नुभएको छ । कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उहाँ दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हँुदैछ ।