कात्तिक ७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी,पहिरो तथा डुबान पीडितका लागि विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् । आज प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।
उनले भने, ‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भएपनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौं, बाढीपहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानका लागि व्यवस्था गर्नेर्छौं, ‘सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीहरुले गरेको कामको प्रशंसा गरे ।