• २०८१ बैशाख ६ गते बिहिवार

मौलापुर नगरपालिकाले ल्यायो ३६ करोड ६ लाखको बजेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

असार १०, रौतहट । रौतहटको मौलापुर नगरपालिकाले ३६ करोड ६ लाख ५० हजार ५ सय रकम बराबरको बजेट ल्याएको छ । बिहिबार नगरपालिकाको सभाहलमा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा आयोजित मौलापुर नगरपालिकाको पाँचौ नगर बजेट अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हाे ।

बजेटले नगरवासीलाई कोरोना महामारीबाट बचाउन खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखी कोरोना संक्रमणबाट प्रत्यक्ष प्रभावित नागरिकलाई राहत सहयोगमा ध्यान दिदै आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासमार्फत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । नगरले तीन वाली खेती गर्ने किसान र व्यवसायिक ढंगले खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको छ । “किसानलाई निशुल्क पानी” भन्ने कार्यक्रमको लागि प्रत्येक किसानलाई कृषि मिटरको सम्पूर्ण लागत नगरपालिकाले व्यहोर्ने व्यवस्था गरेको छ । कृषकको उत्पादित वस्तुको विक्रीदरलाई सन्तुलित राख्न निर्माण शुरु गरिएको शीत भण्डार (कोल्ड स्टोर) भवन छिटै सम्पन्न गर्ने तथा फलफुलको व्यवसायिक खेतीमा जोड दिदै केरा खेतीलाई बढावा दिन केरा पकेट क्षेत्र निर्माण गर्ने घोषणा गरिएको छ । नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन गाई र भैसी पालनका लागि बिआएको भैसी खरीद गर्ने प्रत्येक परिवारलाई रु. ५० हजार तथा बिआएको गाई खरीद गर्नेलाई रु २५ हजार अनुदान दिइने बजेटमा उल्लेख छ ।

त्यस्तै दलित वा विपन्न (विधवा) परिवारको आर्थिक उपार्जनमा सहयोग हेतु प्रत्येक परिवारलाई उन्नत जातको बाख्रा अनुदान दिने र बाख्रा पालनमा अनिच्छुक परिवारलाई निजको व्यवसायसँग मिल्ने अन्य सामाग्री वा रु १० हजारसम्मको आर्थिक अनुदान उपलब्ध गराउने मौलापुर नगरको नीति छ । माछा व्यवसायलाई बढावा दिइने नीति अनुरुप माछाको उत्पादन बढाउन माछाको पकेट क्षेत्र निर्माण गर्ने तथा आफै माछापालन गर्ने किसानलाई विशेष अनुदानको व्यवस्था गरेको छ ।

नगरले पतौरा पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सुचीमा सुचिकृत गर्न पहल गर्ने, मन्दिरको उत्खनन र पुनर्निमाणको कार्यलाई तीव्रता दिने, पुरातात्विक सम्पदा संरक्षण एवम् पर्यटन विकासमा सहयोग गर्न पुरातात्विक संग्रालय निर्माण गर्ने नीति लिएको छ । धर्म-संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै धार्मिक-सांस्कृतिक क्षेत्रमा राज्यको भुमिकालाई अझ प्रभावकारी बनाउन नगरपालिकाले यस नगरभित्र हुने सार्वजनिक पर्व, मेला एवम् महोत्सवहरुमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगरभित्र रहेका सांस्कृतिक समूह एवम् किर्तन मण्डलीलाई प्रोत्साहन गर्न अनुदान स्वरुप वाद्यवादन लगायतको सामग्री वितरण, नगरभित्रको मठ मन्दिरको संरक्षण र सञ्चालन, मनोरञ्जन पार्क निर्माण, दाह संस्कारस्थललाई सुरक्षित र पवित्र राख्न व्यवस्थित मसानघाट निर्माण कार्यमा जोड दिएको छ ।

“हर हातमे हुनर” भन्ने नारासहित सञ्चालन गरिएको सीपमुलक प्रावधिक शिक्षालाई निरन्तरता दिएको छ । गुणस्तरीय शिक्षामा जोड दिदै विद्यालय पूर्वाधारको दायरा र स्तर वृद्धि गर्न मौलापुर, मर्यादपुर, गम्हरिया र पतौरामा माध्यमिक स्तरको पठनपाठनको लागि चाहिने पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको छ भने मौलापुर प्राविधिक शिक्षालयको दायरालाई विस्तार गर्ने र मावि सोनरनियालाई नमुना विद्यालयको तथा मावि पथराबुधरामलाई प्राविधिक शिक्षालयको रुपमा विकास गर्ने बजेटमा उल्लेख छ। नगरमा ई-लाइब्रेरीसहितको आधुनिक पुस्तकालय एवम् व्यायामशाला निर्माण, प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने नीति लिएको छ ।

स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन १५ सैय्याको अस्पताल भवनको निर्माण कार्य यसै वर्ष शुरु गर्ने बजेटमा भनिएको छ । यसै वर्ष सम्पूर्ण नगरवासीलाई कोरोना खोप दिलाउन विशेष पहल गर्ने तथा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वडाहरुमा व्यवस्थित स्वास्थ्य चौकी भवन निर्माणको कार्यलाई विस्तार गर्ने बजेटमा उल्लेख छ । मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्दै थप चिकित्सको व्यवस्था मिलाउने, कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिम रहँदासम्म प्रत्येक स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप विशेष भत्ता दिने, उमेर पुगेका प्रत्येक महिलालाई स्यानेटरी प्याड निशुल्क वितरण गर्ने उल्लेख छ ।

गुणस्तरीय शुद्ध खानेपानीको लागि हैण्डपाइपको विस्थापन सहित पानी ट्याङ्कीमा प्रशोधन यन्त्रको व्यवस्था गर्ने, “टोल टोलमा पानी टंकी, घरघरमा धारा” पुर्याउने लक्ष्य अनुरुप सम्पूर्ण पानी ट्याङ्कीलाई नियमित सञ्चालन गर्ने, मौलापुर बजारको पानी निकासको लागि ढल निर्माणको कार्य यसै वर्ष शुरु गर्न बजेट छुट्याइएको छ । प्रत्येक दलित वस्तीमा सेफ्टी ट्याङ्कीसहित शौचालय निर्माण, प्रत्येक घरलाई नाला र ढलसँग जोड्न “स्वच्छ शहर हमर नगर” कार्यक्रमलाई निरन्तरता दिएको छ । लामखुटेको प्रकोपबाट बचाउन प्रत्येक परिवारमा २/२ वटा मेडीकेटेड झुल (मछरजाली) वितरण गर्ने तथा “मौलापुर नगर, हरित शहर” को लक्ष्य राखी सुरु गरिएको वृक्षारोपण कार्यलाई अझ प्रभावकारी बनाउने नीति नगरपालिकाको रहेको छ ।

एकीकृत वस्ती विकासमा जोड गर्दै दलित एवम् असहाय गरिब परिवारलाई पक्की आवासको व्यवस्था गर्ने भनेको मौलापुरले मर्यादपुरको एकीकृत दलित वस्तीको घरसहित जग्गाको लालपुर्जा सम्बन्धित लाभग्राहीलाई यसै वर्ष हस्तान्तरण गर्ने बजेटमै उल्लेख गरेको छ । तिलक/दहेजको प्रथा र खर्चिलो विवाह प्रणालीलाई निरुत्साहित गर्दै गरिब असहायको छोरीको विवाहमा “असहायको साथ मेयर” नामक लोकप्रीय कार्यक्रममार्फत दिदै आएको आर्थिक सहयोग रकमलाई दोब्बर गरी रु ५० हजार पुर्याएको छ । छात्रालाई उच्च शिक्षा एवम् व्यवसायिक शिक्षाप्रति प्रोत्साहित गर्न साइकल/ल्यापटप कम्प्युटर लगायतका शैक्षिक सामाग्री वितरणको कार्यलाई निरन्तरता दिएको छ । दलित, शहिद परिवार, कोरोनाबाट मृत्यु भएको परिवार र विधवा विपन्न परिवारको छात्रालाई नगरभित्र सञ्चालित प्राविधिक शिक्षामा विशेष छात्रवृतिको व्यवस्था मिलाएको छ ।

“सडक पूर्वाधारको विकास, समृद्धिको आधार” भन्ने नारासहित यस नगरलाई यसै आ.व. मा कच्ची सडकमुक्त नगरपालिका घोषणा गर्ने तथा भकुवा नदीको पतौरामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने बजेटमा उल्लेख छ । मौलापुर पिकनिक पार्क नजिक झोलुङ्गे पुल तथा मर्यादपुर-टिकुलियाको बीचमा लालबकैयामा नयाँ झोलुङ्गे पुल निर्माण कार्य शुरु गर्न बजेट छुट्याइएको छ ।

“हर खेतमा सिंचाई” को नारासहित सिंचाईको लागि नहरमा जोड दिदै नहर नपुगेको ठाउँमा डिप ट्यूवेल तथा स्यालो ट्यूवेलको व्यवस्था गर्ने, निशुल्क सिंचाइको नीति अनुरुप विद्युतको कृषि मिटर वापत लाग्ने रकम नगरपालिकाले तिर्ने, वकैया सिंचाई आयोजना निर्माण कार्य सुरु गर्न विशेष पहल गरिने तथा अरुवा सिंचाई र भकुवा सिंचाईलाई पनि व्यवस्थित गरिने कार्यक्रम रहेको छ । बजेटले वैकल्पिक उर्जामार्फत सोलार ट्यूवेल जडानलाई पनि ध्यानमा राखी वाली अनुकुल पानीको लागि आधुनिक सिंचाई प्रविधिमा जोड दिएको छ ।

नगरपालिकाले जग्गा एकीकरण ल्याण्ड पुलिङ (Land Pulling) को नीतिमार्फत शहरी पूर्वाधारको विकास तथा वस्ती विकासमा जोड दिएको छ । दलित तथा विपन्न वर्गको पक्की आवास निर्माणको लागि विशेष अनुदानको व्यवस्था गरेको छ । नयाँ एकीकृत सरकारी भवन निर्माणको लागि पहल गर्ने तथा नगरभित्र इनार भएको जग्गामा प्रतिक्षालय वा सामुदायिक भवन निर्माणमा जोड दिदै सार्वजनिक शौचालय निर्माणसमेत गर्ने लक्ष्र्य लिएको छ ।

नगरपालिकाभर फ्रि वाईफाई जडान, सरकारी कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्थाहहरु लगायत सार्वजनिक स्थानहरुमा फ्रि इन्टरनेटको सुविधासहित प्रविधिमैत्री बनाउने, मौलापुर F.M. रेडियो यसै वर्ष सञ्चालन गर्ने, प्रत्येक वडाहरुमा नेपाल टेलिकमको टेलिफोन लाईन जडानको लागि जोड दिएको छ । नगरभित्रको विद्युत प्रशारण लाईनलाई व्यवस्थित एवम् भरपर्दो बनाउन सम्पूर्ण ट्रान्सफर्मरको स्तरवृद्धि गर्ने, विद्युत वितरणको कार्यलाई विस्तार गर्दै सिँचाईको लागि खेत खेतमा विद्युत प्रशारण पुर्याउने, नगरपालिका क्षेत्रभित्रको प्रत्येक बजार क्षेत्रका सडकहरुमा सोलार बत्ती जडान गर्ने, नगरपालिका क्षेत्रभित्रको वस्तीका सडकहरुमा रहेका विजुली पोलहरुमा सेन्सर बत्ति जडानको कार्यलाई विस्तार गर्ने तथा बायो ग्यास प्लान्ट जडानमा जोड दिने नीति लिएको छ ।

मौलापुर नगरलाई यसै वर्ष विधिवत् रुपमा “धुवाँमुक्त चुल्हो नगरपालिका” घोषणा गर्ने, प्रत्येक सडक पेटीमा वृक्षारोपण कार्यलाई विस्तार गर्ने, बजार एवम् वस्तीको फोहोरमैला व्यवस्थापन गर्न ल्याण्डफिल साइटको सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउने, नियमित प्राकृति विपदको रुपमा रहेको बाढी, आगलगी र सीतलहरबाट बचाउन विशेष कार्यक्रमका लागि रकम विनियोजन गरेको छ । साथै नगरपालिकाबाट प्रवाह गरिने सेवा अन्तर्गत नगरपालिका र वडा कार्यालयहरुबाट गरिने सिफारिस वापत लिइने शुल्क, मालपोत, व्यक्तिगत घटना दर्ता शुल्क हटाइएको छ । साथै पचास लाखसम्मको सम्पत्तिमा कर छुट समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस