• २०८१ फाल्गुन ७ गते बुधवार

सीमा नाकामा स्क्रिनिङ थालियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११,काठमाडौँ। कोरोना भाइरसका नयाँ सङ्क्रमित देखापर्न थालेपछि भारतसँग सीमा जोडिएका प्रदेश १ का जिल्लाहरूको सीमा नाकामा पुनः स्क्रिनिङ सुरु गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ, सुनसरी र इलामका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने स्थानमा कडाइसँगै स्क्रिनिङ सुरु गरिएको हो ।

मोरङमा पछिल्लो चार दिनमा मात्रै दश जना सङ्क्रमित फेला परेका छन् । प्रदेश राजधानी विराटनगर प्रवेश गर्ने सीमा नाका जोगबनीमा कडाइ गर्दै महामारी नियन्त्रणको कार्य पुनः सुरु गरिएको छ । सीमा क्षेत्रबाट प्रवेश गर्नेमा आशङ्का लागेको अवस्थामा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले सीमा क्षेत्रबाट आवत–जावतलाई पुनः कडाइ गर्ने र आशङ्का लागेको अवस्थामा परीक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । “मन्त्रालयबाट केही निर्देशन प्राप्त भएका छन्, ती विषयमा हामीले नयाँ निर्णय गर्नेछौँ”– प्रजिअ निरौलाले भने । कोरोना सङ्क्रमणका कारण सरकारले लकडाउन घोषणा गरेको एक वर्षपछि पुनःसङ्क्रमितको सङ्ख्या देखिन थालेपछि त्यसको रोकथामका उपाय अवलम्बन गरिने भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाकी कन्सल्टेन्ट कम्युनिटी फिजिसियन डा। सङ्गीता राईका अनुसार सीमा जोडिएका जिल्लाका नाकामा स्क्रिनिङ गर्ने र स्वास्थ्य कार्यालयलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस