असोज ७, चितवन । कोभिड–१९ को सुरुआतसँगै धेरै पेशा व्यवसाय करिब–करिब बन्दै रहे । अझै पनि असर कायमै भएपनि यहाँको साहित्य भने कोभिडजस्तो महामारीमा पनि कहिल्यै रोकिएन । सुरुआती चरणमा जुम प्रविधिमार्फत आयोजना गरिएका साहित्यिक गतिविधि पछिल्लो समय प्रत्यक्षरुपमै हुन थालेका छन् ।
यहाँका दुई दर्जन हाराहारी साहित्यिक सङ्घ संस्थाले कुनै न कुनैरुपमा साहित्यलाई निरन्तरता दिई नै रहे । कतिपय साहित्यकारले निषेधाज्ञाको सदुपयोग गर्दै घरमै बसेर कृति पढ्ने, लेख्ने र जुममार्फत आफ्नो कृति एकअर्कामा सुनाउने र पुस्तकसमेत प्रकाशन गरेका थिए ।
युरेका पब्लिकेशन र सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटा अन्य समयभन्दा कोभिडका बेला साहित्यिक गतिविधिमा कमी नआएको बताउनुहुन्छ । यसैलाई सदुपयोग गर्दै धेरै साहित्यकारले प्रकाशनको कामसमेत गरेको उहाँको भनाइ छ । अघिल्लो वर्षको निषेधाज्ञा यता सिर्जन अविरलको उपन्यास सङ्ग्रह ‘मोक्ष’, विनोदबाबु रिजालको डायरी ‘एकान्तवास’, सूर्यप्रकाश कँडेलको उपन्यास ‘मोसो’, गायत्री अधिकारीको कथा ‘निर्णय’, सुमन घिमिरेको ‘सुनको टप’ र यसको अङ्ग्रेजी अनुवाद प्रकाशन भएका छन् ।
यसैगरी वसन्त पराजुलीको कथासङ्ग्रह ‘मुस्सो’ प्रकाशनको तयारीमा छ भने ‘कुमाता’ तेस्रो संस्करण प्रकाशित भैसकेको छ । निर्दोष जीवनको उपन्यास ‘मोस्टालजिया’, शोभा कँडेलको संस्मरण ‘यादहरु’, मिनराज वसन्तको हिन्दीमा रहेको ‘लेनिनको जीवनी’ नेपाली अनुवाद, डा कृष्ण पौडेलको स्वास्थ्यसम्बन्धी पुस्तक ‘कम्मरीदेखि कोभिड कहरसम्म’ प्रकाशित भएका छन् भने उहाँकै अन्य दुई कृति तयारी अवस्थामा छन् । रामहरि श्रेष्ठको संस्मरण ‘भुल्न नसकेको अतित’, गोविन्दराज विनोदका ‘नानीका गजल, नानीका कविता र सयपत्री रानी’ गरी तीन कृति यसै समयमा प्रकाशन भएका छन् । यसका अतिरिक्त विभिन्न लेखकले फुटकर कथा, कविता, गजललगायत साहित्यिक लेख÷रचना लेखिरहेका उहाँ जानकारी दिनुहुन्छ।
पत्रकार एवं आख्यानकार वसन्त पराजुली मोफसलमा साहित्यले मात्रै मानिसको जीविकोपार्जन नहुने भएकाले अन्य काममा व्यस्त हुने गरेकामा लकडाउनका कारण घरमै बस्न बाध्य हुँदा साहित्यिक गतिविधि थप चलायमान हुन पाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरमा फुर्सदिलो हुँदा पढ्ने र लेख्ने अवसर मिल्यो ।”
यसै समयमा कृति प्रकाशन गर्नुभएका सुमन घिमिरे लकडाउनले अन्य पेशा व्यवसायमा असर पार्दा साहित्यमा कुनै असर नपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसलाई अधिकतम उपयोग गरेर मैले दुई कृति प्रकाशन गर्ने अवसर पाएँ ।”
साहित्य सङ्गमका जिल्ला अध्यक्ष प्रकाश चापागाई कोभिड कहरको असर साहित्यमा नपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ , “हामी चुप लागेर बसेनौँ । घर बाहिर निस्किन नसक्दा पनि सिर्जना गर्ने, अध्ययन गर्ने, जुममार्फत कार्यक्रम गर्ने गरी नै रह्यौँ ।” विगतका वर्ष जत्तिकै साहित्यिक गतिविधि भइरहेको उहाँको भनाइ छ ।
जिल्लामा नियमित लेख्ने साहित्यकारको सङ्ख्या एक सयभन्दा बढी छ । चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल जिल्लामा कोभिडले साहित्यिक गतिविधि नरोकिएको बताउनुहुन्छ । घरबाट बाहिर निस्कन नपाउँदा भर्चुअल माध्यमबाट कवि गोष्ठी र पुस्तक चर्चा गर्ने काम भई नै रहेको उहाँको भनाइ छ । कोभिड घट्दै गएपछि सानो–सानो सङ्ख्यामा साहित्यिक कार्यक्रम गर्ने गरेको अध्यक्ष अस्तफल बताउनुहुन्छ । यस समयमा पनि अन्य समयमा झै लेखक तथा साहित्यकारको कृति निरन्तर प्रकाशित भइरहेका छन् ।
सञ्चारमाध्यममा कोभिडका बेला अन्य सामग्रीको उत्पादन कम भएकाले साहित्यिक कार्यक्रम र लेखरचना प्रकाशनले प्रशस्त ठाउँ पाएका छन् । जिल्लाका रेडियोमा गजलका कार्यक्रम निकै प्रभावकारी रुपमा सञ्चालन हुँदै आएका छन् । लकडाउनका समयमा यस्तो कार्यक्रमका स्रोता झनै बढी भएको कार्यक्रम प्रस्तोताका भनाइ छ ।