भदौ ७, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रदेशसभामा रहेको कूल ८० सदस्यमध्ये ‘हुन्छ’ भन्ने पक्षका ४२ सदस्य कुलसङ्ख्याको बहुमत भएको घर्तीले जानकारी गराउनुभयो । ‘हुन्न’ भन्ने पक्षमा सून्य सदस्य सङ्ख्या र उपसभामुख कृष्णी थारु तटस्थ रहनुभएको थियो । नेकपा (एमाले)ले सदन बहिष्कार गरेको थियो ।
एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।