असोज ६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रुपमा मन्त्री नियुक्त गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बोलाएका छन्। महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्रोतले बतायाे।
प्रधानमन्त्री देउवाले सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल समूह असन्तुष्ट छ। मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्र मन्त्रीको रुपमा नियुक्ति गर्ने सहमति बनेको थियो।
प्रधानमन्त्री देउवाले हालसम्म पार्टीका तर्फबाट परराष्ट्रमन्त्रीसहित चार जना मन्त्री नियुक्त गरेका छन्। तर, पौडेल पक्षले अहिलेसम्म कुनै मन्त्रालय पाएको छैन।
सरकारमा नियुक्त भएको ७० दिनसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेर आलोचना खेपेका देउवाले पार्टीमा सहमतिबिना अघि बढेपछि पौडेल खेमा रुष्ट बनेको हो। देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए।
कांग्रेसले गठबन्धनमा करिब ७ मन्त्रालय पाउने सहमति बनेपनि देउवाले आफूसहित ४ मन्त्री आफू निकटकै नियुक्त गरेका छन्।
यस्तै, सभापति देउवाले कांग्रेसको पदाधिकारी बैठक बोलाएका छन्। देउवाले आज दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाएका हुन्।
पदाधिकारी बैठक बस्नुअघि पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो।