भदौ ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनको निजी सचिवालयका अनुसार प्रचण्डलाई रुघाखोकी सँग(सँगै ज्वरो पनि आएको छ।
प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजाल मार्फत प्रचण्डको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन्। प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो आएपनि कोरोना परिक्षण भने नेगेटिभ आएको दाहालको भनाई छ। बिहिबार बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ । रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमणको समेत परीक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ । दाहालले फेसबुकमा लेखेकी छन् “देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ।”,