चैत ९, काठमाडौँ। आज देशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
यता, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली रहि देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।