• २०८१ जेष्ठ ३१ गते बिहिवार

१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैङ्किङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैङ्कले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैङ्कले बुधवार जारी गरेको सूचनाअनुसार बैङ्कले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैङ्क वित्तीय संस्थाले भाग लिन पाउने छन् ।

बजारमा तरलताको अभावले बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए ।

त्यसरी बैङ्क तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारण रूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैङ्कले मङ्गलवार तीन बुँदे निर्देशन जारी गरेको थियो । बैङ्किङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैङ्कले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस