• २०८१ मङ्सिर २२ गते शनिवार

कोभिड–१९को डेल्टा भेरियन्ट बढी घातक

पत्रपत्रिका पढ्न लाग्ने समय : २ मिनेट

असार ७, काठमाडौँ। कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ । तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ । कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए ।

सोमबारदेखि बेलायतका हरेक व्यवसाय र जनजीवन पुरानै लयमा फर्कने अपेक्षा थियो । तर बेलायतको प्रधानमन्त्री बोरिस जोन्सनलेले जुन १४ मा आम नागरिकको अपेक्षाविपरीत नयाँ घोषणा गरे । कोरोना संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने र सघन उपचार कक्षमा उपचार गर्नुपर्ने बिरामीको चाप बढेपछि उनले पूर्ण रूपमा लकडाउन खुला नगर्ने संकेत गर्दै भने, ‘यो मेसिन (एक्सलेरेटर) को गतिलाई अलि कम गर्ने समय हो ।

जर्मनी, फ्रान्स तथा आयरल्यान्डलगायत अन्य युरोपेली राष्ट्रले बेलायती यात्रुलाई कडा प्रतिबन्ध लगाइसकेका छन् । यी सबैको कारण डेल्टा नामक भाइरसको नयाँ भेरियन्ट हो । यसअघि बि.१.६१७.२ नामांकन गरिएको र भारतमा फेब्रुअरीमा पहिलोपटक पत्ता लागेको यही भेरियन्टका कारण गत वसन्त क्रतुमा भारतमा डरलाग्दो महामारी फैलिएको थियो । इकोनोमिस्टले यो वर्ष मात्रै भारतमा १० लाख मानिसको मृत्यु भएको आँकलन गरेको छ।

भारत मात्र होइन, डेल्टा भाइरस अन्य देशमा पनि तीव्र रूपमा फैलिएको छ । जिआइएसएड नामक डाटा सेयरिङ अभियानका अनुसार यो भेरियन्ट क्यानडा, इन्डोनेसिया, पाकिस्तान, पोर्चुगल तथा रुसमा सबैभन्दा बढी पाइने भेरियन्ट बनिसकेको छ । भारतमा नयाँ भेरियन्ट देखिएपछि भारतसँगको सम्पर्क तोड्न बेलायतले ढिलाइ गरेको थियो र त्यही कारणले यो भेरियन्ट तीव्र रूपमा फैलिन सजिलो बनेको थियो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस