जेठ ७, मोरङ । स्रोत नखुलेको अवैध रकमसहित मोरङ प्रहरीले तीन जनालाई विराटनगरबाट पक्राउ गरेको छ । हुन्डी कारोबारी विराटनगर महानगरपालिका–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडी र उनले कारोबारका क्रममा भरियाका रुपमा प्रयोग गर्दै आएका २५ वर्षीय श्रवण साह र मोरङको रंगेली नगरपालिका–१ ववियाबिर्ताकी २५ वर्षीया जिज्ञासा चौधरी पक्राउ परेका हुन् ।
पक्राउ परेकामध्ये दुई जनाको साथबाट अवैध हुन्डी कारोबारको २२ लाख आठ हजार तीन सय रुपैयाँ बरामद भएको छ । प्रहरीले सुरुमा विराटनगरको रोडशेष चोकबाट श्रवण र जिज्ञासालाई पक्राउ गरेको थियो । श्रवणले बोकेको रातो रंगको झोलाबाट २१ लाख ७१ हजार पाँच सय नेपाली रुपैयाँ र जिज्ञासाबाट २३ हजार भारतीय रुपैयाँ तथा विभिन्न बैंकका चेकहरु बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । चेकजाँचका क्रममा दुवै जनाले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनीहरु पक्राउ परेका हुन् ।
स्रोत खुल्न नसकेको रकम अवैध हुन्डी कारोबारको भएको प्रहरीले जनाएको छ । सुरुमा पक्राउ परेका श्रवण र जिज्ञासाले दिएको जानकारीका आधारमा प्रहरीले अमृतलाई घरैबाट पक्राउ गरेको हो । अमृतको घरबाट मोबाइल, नगद भौचर, डिपोजिट रसिदसमेत बरामद भएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि शुक्रबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने भएको छ ।