• २०८२ बैशाख ५ गते शुक्रवार

सरकार निजी क्षेत्रका समस्या समाधान गर्न तयार छ : राज्यमन्त्री श्रेष्ठ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ५, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आफूले सरकारमा निजी क्षेत्रको प्रतिनिधित्वि गरेको र सरकार तथा निजी क्षेत्रबीच पुलका रूपमा काम गर्ने बताउनुभयो ।

सरकार लगानीकर्तालाई आकर्षित र लगानीका थप क्षेत्र खुला गर्दै अगाडि बढेको उल्लेख गर्दै उहाँले आर्थिक रुपान्तरणका लागि सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । आयात प्रतिस्थापन गर्दै निर्यात बढाएर मात्र मुलुक समृद्ध हुने भन्दै उहाँले निर्यातजन्य उद्योगमा लगानी बढाउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा उहाँले ६० वर्षमाथिको नागरिकलाई सरकारले कोरोनाविरुद्ध खोपको ‘बुस्टर डोज’ दिने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले निजी क्षेत्रले सरकारसँग प्रतिस्पर्धा गर्ने नभई सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय सदैव तयार रहेको बताउँदै उहाँले कोरोना महामारीमा आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रले खेलेको भूमिकाको सरहाना गर्नुभयो ।

“सरकार व्यावसायिक वातावरणलाई व्यवस्थित र क्रियाशील बनाउन तयार छ”, उहाँले भन्नुभयो । मन्त्रालयका अर्का सचिव अर्जुनप्रसाद पोखरेलले सरकार उद्योग व्यवसायीको संरक्षक रहेको भन्दै निर्धक्कसँग उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कावा अध्यक्ष चन्द्रप्रसाद ढकालले सरोकारवालासँग छलफल गरेर मात्र नीति नियम बनाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले पेट्रोलियम आयातमा निजी क्षेत्रलाई पनि खुला गरिनुपर्ने बताउनुभयो । “राज्यल निजी क्षेत्रलाई प्रतिस्पर्धामा आउन नदिने हो भने जनताले सहज ढङ्गबाट सेवा सुविधा पाउँदैनन्”, उहाँले भन्नुभयो ।

सङ्घका अध्यक्ष कुशप्रसाद मल्लीले मुलुकमा ५९ वटा ग्यास उद्योग रहेको जानकारी दिँदै कोरोना महामारीका समयमा पनि राज्यबाट कुनै सुविधा नलिई निरन्तर सेवा प्रवाह गरेको बताउनुभयो । कार्यक्रममा उपभोक्ता अधिकारका लागि अनवरत सेवा गरेबापत उपभोक्ता अधिकार मञ्च काठमाडौँका अध्यक्ष माधव तिमिल्सिनालाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस