• २०८० फाल्गुन ११ गते शुक्रवार

हुम्लामा हावाहुरीको असरः हवाई उडान अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ५, हुम्ला । शनिबार राति दुई बजेदेखि लगातार हावाहुरी चल्दा सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । आइतबार दिनभर हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावत्मा समेत निकै कठिनाइ भएको छ ।

बिहानैदेखि हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायातसमेत बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन् ।

यस्तै दिनभर चलेको हावाहुरीले सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको मानसरोवर बहुमुखी क्याम्पसको छानोसमेत उडाएको छ । हावाहुरीले छानो उडाएपछि कक्षा कोठामा क्षति पुगेर पठनपाठनमा असर पर्ने देखिएको छ । क्याम्पस भवनको छानो उडाएपछि प्रहरी घटनास्थलमा पुगेर क्षतिको मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

यसैगरी हावाहुरीले छानो उडाएपछि रु सात लाख बराबरको क्षति पुगेको प्रहरीको आँकलन छ । क्याम्पसमा मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायको पठनपाठन हुने गरेको छ । कोरोना महामारिपछि भने भौतिक उपस्थितिमा पठनपाठन हुनसकेको छैन । हावाहुरीका कारण सिमकोटमा चिसो अत्याधिक बढेको महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस