असार ६, सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।
बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उहाँहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आउनुभएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।” बजारमा उहाँका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उहाँको भनाइ छ । बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उहाँले बताउनुभयो ।
बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उहाँको भनाइ छ । सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आउनुभएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भ¥यो । मानिसमा रुवाबासी र भागाभाग भयो ।”
चनोटे बजारमा रहेको चारतले माछापुच्छे गेस्ट हाउसको दुई तला बालुवा, माटो र ढुङ्गाले पुरिएका छन् । बाढीले भवनको खोलातिरको पर्खाल बगाइसकेको छ । गेस्ट हाउसका सञ्चालक कुलमान तामाङले वर्षायाम भर्खर सुरु भएको र दिनहुँ अविरल पानी परिरहेकाले बाढीका कारण चनौटे बजारको अस्तित्व रहने कि नरहने उहाँ बताउनुहुन्छ ।
कालो बादल मडारिँदा र गर्जिंदा आफ्नो होसहवास नै गुम्ने गरेको उहाँ बताउनुहुन्छ । बाढीले मेलम्ची नगरपालिका, तालामाराङ, सेरे र हेलम्बु गाउँपालिकाको चनौटे बजार, चालिसे, तिमु, चिउरी खर्क र क्युल भन्ने ठाउँमा ठूलो क्षति पु¥याएको उहाँले बताउनुभयो । चनौटे बजारकै सोम तामाङले बाढीको आवाज सुन्नेबित्तिकै छोराछोरी लिएर घरबाट बाहिर निस्केको र आँखाकै सामुन्ने घर बगाएको बताउनुभयो । अहिले आफूहरू पालमा बसिरहेको तर कहीँकतैबाट राहत नपाएको उहाँको गुनासो थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।