असार ६, एजेन्सी । जर्मनीले १६ औं संस्करणको युरोकप फुटबलमा साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीले दुई गोल आत्मघाती उपहार पाएको थियो ।पोर्चुगलका डिफेन्डरद्वय रुबेन डियास र राफायल गुइरेरोले आत्मघाती गोल गरे ।
खेलको पाँचौं मिनेटमा जर्मनीका रोबिनले गोल गरेका थिए । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाए । खेलको १५ औं मिनेटमा कप्तान रोनाल्डोले डिएगो जोटाको पासमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३५ औं मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो ।
३९ औं मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् ।
दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औं मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । ६० औं मिनेटमा गोसेन्सले किमिचको पासमा गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए। त्यसपछि खेलको ६७ औं मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४-२ ले विजयी भयो । उनले रोनाल्डोको पासमा गोल गरेका हुन् ।
समूह ‘एफ’ को जर्मनीको यो पहिलो जित हो । दोस्रो स्थानमा रहेको जर्मनीले २ खेलमा ३ अंक जोडेको छ । समूहको तेस्रो स्थानको पोर्चुगलले २ खेलमा ३ अंक जोडेको छ ।