जेठ ६, काठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पीसीआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पीसीआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो ।
जनस्वास्थ्य प्रयोगशालाले घरमै पीसीआर गर्न ‘घरमै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पीसीआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो । यसअघि पीसीआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने थियो ।
जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले मापदण्ड लागू गरेपछि अब कोही पनि व्यक्तिले पीसीआर परीक्षणका लागि घरमा नै स्वास्थ्यकर्मी बोलाउन सक्ने बताए । उनले बिरामी भएको वा सङ्क्रमण लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालाबाट खट्ने स्वास्थ्यकर्मीले घरमै आएर पीसीआरका लागि नमुना संकलन गर्ने बताए । उनले यसरी घरमा नै बोलाएर पीसीआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने बताए ।
अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पीसीआर परीक्षण गर्ने अनुमति पाएका छन् । ती प्रयोशगालाले अहिले दैनिक करिब २० हजार पीसीआर परीक्षण गर्ने गरेका छन् ।