फागुन ८, काठमाडौं । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्न साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन्।
अध्यक्ष सिंहले आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताए।
युवा संघले केही कथित बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता मच्चाउन खोजिरहेको आरोप लगाएको छ । उनीहरुका पाखण्ड भण्डाफोर गर्दै जनतालाई यथार्थ बुझाउन साइबर सेनाको युनिट बनाउन लागिएको सिंहले बताए । ओली पक्षीय युवा संघले देशभर चुनावको अभियान चलाउने र पाँच लाख युवालाई नयाँ सदस्य बनाउने दाबी समेत गरेको छ ।