• २०८१ जेष्ठ ३१ गते बिहिवार

दैलेखमा २३ लाखको अलैंचि विक्रि

जितेन्द्र थापा पढ्न लाग्ने समय : ४ मिनेट

असोज ३, सुर्खेत । पछिल्लो तीन वर्षयता व्यवसायिक रुपमा अलैंची खेती सुरु गरेका दैलेखका किसानहरुले अघिल्लो वर्षमात्रै २३ लाख ११ हजार बराबरको अलैंची बिक्री गरेका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखममा किसानहरु अलैंचि खेतीतर्फ आर्कर्षित हुँदै अलैंचि खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाका ११ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहहरु नौमूले, भगवतीमाई, डुङ्गेश्वर, गुराँस, महाबु र भैरबीका किसानहरु खेतीबाट मनग्य लाभ लिदै आएका छन् । यी स्थानीय तहमा अलैंची खेतीका लागि राम्रो सम्भावना रहेको समेत पाईएको छ ।

यस क्षेत्रका किसानले २३ लाखको अलैंची बिक्री गरेका छन । पछिल्लो तीन वर्षयता व्यवसायिक रुपमा अलैंची खेती सुरु गरेका किसानहरुले अघिल्लो वर्षमात्रै २३ लाख ११ हजार बराबरको अलैंची बिक्री गरेका हुन किसानले चार हजार एक सय ७२ केजी अलैंची उत्पादन गरेको तथ्यांक छ । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना सहयोग ईकाइ डडेल्धुराले दैलेखमा आयोजना गरेको अलैंची उत्पादन क्षेत्र पहिचान तथा मुल्य श्रृंखला ढाँचा विकास सम्बन्धि दुई दिने कार्यक्रममा सहभागि किसानहरुबाट संकलन गरिएको तथ्यांकमा हाल जिल्लाका ६ वटा स्थानीय तहमा २ हजार ४ सय ७६ रोपनी क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ । अलैंची खेतीको सम्भावना उच्च रहेको ६ स्थानीय तहका किसानहरु एकै ठाउँमा जम्मा भएर संकलन गरेको तथ्यांक अनुसार ५५ स्थानका एक हजार चार सय ७२ घरधुरीले व्यवसायिक रुपमा अलैंची खेती गरिरहेको किसानहरुले जनाएका छन्। किसानहरुले उत्पादन गरेको अलैंची औषतमा प्रतिकेजी ५ सय ५४ रुपैयाँ बिक्री भईरहेको छ ।

करिब ६१ स्थानमा ३ हजार ७ सय ८ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने कार्यक्रममा ६ वटा स्थानीय तहहरुमा अलैंची खेती विस्तार गर्न सकिने सम्भावित स्थानहरु समेत पहिचान गरेको छ । ६१ स्थानमा ३ हजार ७ सय ८ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र एक हजार ५ सय ६० घरधुरीलाई व्यवसायिक अलैंंची खेतीमा संलग्न गराउन सकिने कार्यशालाले पहिचान गरेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना सहयोग इकाई दैलेखका जलस्रोत सल्लाहकार हरि सापकोटाको भनाई छ ।

हाल जिल्लामा ७ वटा अलैंची नर्सरी, ३ वटा अलैंची सुकाउने भट्टी, नौमूले गाउँपालिकामा एक वटा अलैंची संकलन केन्द्र रहेका छन् । कार्यशालाले अलैंची खेतीका लागि नक्सांकन र क्षेत्र पहिचान समेत गरेको छ । आधुनिक प्रविधिको प्रयोग गरेर अलैंचीको व्यवसायिक खेती गर्नुपर्ने औल्याउँदै बजारीकरणका लागि अलैंची उत्पादक किसानहरु संगठित हुनुपर्छ,’सल्लाहकार सापकोटाले भने । दैलेख जिल्ला अलैंची उत्पादनका हिसावले उच्च सम्भावना रहेको परियोजनाका जीविकोपार्जन विज्ञ कृष्ण मल्लको भनाई छ ।

उत्पादन विस्तारसँगै अलैंची खेतीलाई व्यवसायिक बनाउन सके केहि वर्षमै दैलेख जिल्लाबाट १० करोड बढिको अलैंची निकासी गर्न सकिन्छ उनले भने । कुन पालिकामा कति उत्पादन किसानहरुकै संलग्नतामा संकलन गरिएको तथ्यांक अनुसार गुराँस गाउँपालिकामा ८ स्थानका १ सय ३२ घरधुरीले ३ सय ९६ रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। खेतीबाट उत्पादन भएको ९ सय ६७ केजी अलैंची प्रतिकेजी ७ सय रुपैयाँका दरले बिक्री गरेको पाईएको छ । गुराँसका ८ स्थानमा ८ सय ६१ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र त्यसबाट २ सय ८७ घरधुरीलाई खेतीमा जोड्न सकिने गरी अलैंची उत्पादन क्षेत्रको पहिचान गरिएको छ।

त्यस्तै डुङ्गेश्वर गाउँपालिकाको ३ वटा स्थानका एक सय घरपरिवारले ५ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। उनीहरुले उत्पादन गरेको अलैंची प्रतिकेजी ८ सय रुपैयाँका दरले बिक्री गरेका छन्। डुङ्गेश्वरका २ स्थानमा एक सय ५० रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र ७० घरपरिवारलाई अलैंची खेतीमा जोड्न सकिने पाईएको छ । भगवतीमाई गाउँपालिकामा १७ स्थानका एक सय ५ घरधुरीले १ सय ८० रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन् भने २० स्थानका एक सय ६१ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार र १ सय २५ घरधुरीलाई अलैंची खेतीमा जोड्न सकिने कार्यशालाले औल्याएको छ ।

त्यसैगरी नौमूले गाउँपालिकामा १६ स्थानका ३ सय ६५ घरधुरीले ५ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। २ वटा अलैंची सुकाउने आधुनिक भट्टी र संकलन केन्द्र समेत रहेको नौमूलेमा २२ स्थानको २ सय ८१ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने गरी नक्सांकन गरिएको छ। त्यहाँ ३ सय ७३ घरधुरीलाई अलैंची खेतीमा जोड्न सकिनेछ । भैरवी गाउँपालिकाको ७ स्थानमा २ सय २० घरधुरीले २ सय रोपनी क्षेत्रफलमा अलैंची खेती छन्। गाउँपालिकाभर ५ स्थानमा एक हजार ६ सय ६० रोपनी क्षेत्रफलमा अलैंती खेती विस्तार गर्न सकिने र २ सय घरधुरीलाई व्यवसायिक अलैंची खेतीमा जोड्न सकिने सम्भावना रहेको छ ।

त्यसैगरी महाबु गाउँपालिकामा ४ स्थानका ५ सय ५० घरधुरीले ७ सय रोपनी क्षेत्रफलमा अलैंची खेती गरिरहेका छन्। महाबुमा ४ स्थानमा २ सय ६५ रोपनी क्षेत्रफलमा अलैंची खेती विस्तार गर्न सकिने र ५ सय ५ घरधुरीलाई अलैंची खेतीमा जोड्न सकिने गरी अलैंची उत्पादन क्षेत्रको पहिचान गरिएको छ। महाबुमा एक वटा अलैंची खेतीका लागि नर्सरी समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस