• २०८१ चैत्र १ गते शनिवार

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ३, काठमाडौंं । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो ।

नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गर्नुभएको छ ।

राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नुभएको छ ।

जसमा सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टरार्ईलाई प्रदान गरिनेछ ।

यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक स्वर्गी सुवर्ण शमशेर जबरा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई प्रदान गरिने भएको छ । यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याए बापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा। शेरबहादुर पुन र डा। रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो । गायकहरू हेमन्त शर्मा, प्रकाश सपुत, नायिका केकी अधिकारी, नायक अनमोल केसीलाई पनि विभूषित गरिने भएको छ ।

यसैगरी, पशुपतिमा लास जलाएर उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेकी सपना रोका मगर, एसिड पीडित मुस्कान खातुन, तेजिया फौजा मगर, यौनिक अल्पसंख्यक अभियान्ता भूमिका श्रेष्ठ, पर्वतारोही कल्पना महर्जनलगायतलाई पनि महत्वपुर्ण विभूषण प्रदान गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस