फागुन ७, काठमाडौं। शुक्रबार सर्वोच्च अदालतमा सदाभन्दा अलि फरक दृश्य देखियो । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी रहँदा बहसका क्रममा एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरेपछि स्वर-सम्राट नारायणगोपालले गाएका गीतका हरफहरु वाचन गरिन् ।
तिमीले भनेका, सारा देव छोएर
म किरिया खान, कहाँ सक्छु र
यदि मान्छौ भने म, तिम्रै देव भनेर,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर ।
तिमीले भनेका, सारा देव छोएर।
बहसका क्रममा यसअघि इजलासमै सायरीहरु समेत सुनिने गरेको भन्दै हाल यो मुद्दासँग स्वर सम्राट नारायण गोपालको गीत पो सुहाउने अधिवक्ता संग्रौलाको धारणा थियो । उनले सोही सन्दर्भमा उक्त गीतका केही हरफ इजलासमै सुनाइन् ।
यसरी स्वर सम्राट नारायण गोपालको गीतका हरफहरु सुनाउँदै संग्रौलाले आफ्नो राय पेश गर्ने क्रममा वर्तमान संविधान बिरामी नरहेको र कोमामा पनि नगएको बताइन् । उनले भनिन्, ‘संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका छौँ ।’ यसअघिका केही अधिवक्ताले वर्तमान संविधान बिरामी परेको भन्दै अलालतलाइ संविधानको रक्षा गर्न राय दिएका थिए । तर अधिवक्ता संग्रौलाले भने इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संविधानको धारा अक्सिजन भएको पनि संग्रौलाले बताइन् ।