माघ ६, एजेन्सी। भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । समाचार एजेन्सी मिन्टका अनुसार भारतीय केन्द्रिय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप निर्यात गर्ने निर्णय गरेको छ ।
बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । भुटानी प्रधानमन्त्री लोते छिरिङले पनि भारतले आफ्नो देशलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको ट्वीट गरेका छन् । भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ । भारतीय मिडियाले यो निर्णयलाई खोप कुटनीतिको कदमको रुपमा लिएका छन् ।
बैठकपछि मिन्ट एजेन्सीसँग कुरा गर्दै भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको हो । आउने साता यी परिमाणको डोजको आपूर्ति सुरु हुने समेत भारतले जनाएको छ ।