माघ ६, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टरार्यले संघीय राजधानी काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अघि सार्नुभएको छ ।
आज सामाजिक सञ्जालमा ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विकास र संरक्षणबीचको अन्तर सम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य हुने चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले यसको अन्त्यका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्न समेत माग गर्नुभएको छ ।
काठमाडौं महानगरपालिका–१ स्थित ऐतिहासिक महत्व बोकेको कमलपोखरीलाई पुनर्निर्माणका क्रममा मौलिकता मास्न खोजेको भन्दै चौतर्फी विरोध भइरहेका बेला डा। भट्टराईले संघीय राजधानी नै काठमाडौं बाहिर सार्नु पर्ने प्रस्ताव अगाडि सार्नुभएको हो ।
काम रोक्न पुरातत्वले विभागले सोमबार महानगरलाई पत्राचार गरेको भए पनि सो को बेवास्ता गर्दै सोमबार साँझ डोजर नै चलाएको थियो । पोखरी निर्माण गर्दा परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन २०१३ को परिधिभित्र रही कार्य गर्न र गराउन पुरातत्व विभागको पत्रचारलाई महानगरले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।
यसै सिलसिलामा पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले कमलपोखरी निर्माणलाई लक्षित गर्दै काठमाडौं कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने संकेत गर्नुभएको हो ।‘विकास र संरक्षण वीचको अन्तर सम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो । तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं १ संघीय राजधानी काठमाण्डौ बाहिर सारौं १’ उहाँले लेख्नुभएको छ ।