असोज २, काठमाडौँ । नेपाली कांग्रेसका नेता सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने घोषणा गर्नुभयो । शनिबार गणेशमान सिंहको २५ औं स्मृति दिवसको अवसरमा गणेशमान सिह फाउन्डेसनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । तर आफु कुनै पनि हालतमा सभापतिबाट व्याक नहुने दृढता व्यक्त गर्नुभयो ।
नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने उल्लेख गर्दै उहाँले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ । महाधिवेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधन गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउनु भयो ।
गठबन्धनमा भएका दलहरु विच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन ढिलाई भएको उल्लेख गर्दै नेता सिंहले अब छिटै सरकारले पूर्णता पाउने विश्वस्ता पार्नुभयो । कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धन निर्माण भएको सिंहको भनाइ छ । कम्युनिष्टहरू असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको उल्लेख गर्दै काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको भनाई थियो ।