• २०८१ बैशाख १३ गते बिहिवार

नवनिर्वाचित महामन्त्री शर्माद्वारा सशस्त्र द्वन्द्वका घाइतेलाई सम्मान

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष २, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले माओवादी सशस्त्र द्वन्द्वका घाइते दिपेन्द्र गिरीलाई भेटेर आफूलाई शुभेच्छुकले बधाईसहित लगाइदिएका माला र खादा लगाएर सम्मान गर्नुभएको छ । शरीरको मेरुदण्डमुनिको भाग नचल्ने भएपछि २० वर्षदेखि ओछ्यानमै रहेका नेपाल विद्यार्थी सङ्घका नेता गिरीलाई भक्तपुरको लोकन्थलीस्थित उहाँकै निवासमा आज भेटेर महामन्त्री शर्माले सम्मान गर्नुभएको हो ।

सो अवसरमा महामन्त्री शर्माले नेता गिरी शान्तिको बाटो बिराएर हिंसात्मक राजनीतिको बाटोमा हिँड्दा उत्पन्न परिस्थितिको अमिलो अध्यायको प्रतिनिधि पात्र भएको उल्लेख गर्नुभयो । उहाँले पार्टीमा नवनिर्वाचितदेखि सम्पूर्ण कांग्रेसजनले गिरी जस्तै जनआन्दोलन र द्वन्द्वमा प्रातडना भोगेका योद्धा तथा शहीदलाई बिर्सन नमिल्ने बताउनुभयो । अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा शर्माले आफूलाई लगाई दिएका माला र खादा यसैगरी गिरीलाई लगाई सम्मान गर्नुभएको थियो ।

काभ्रेको कार्तिके देउरालीका गिरी २०५८ सालमा २३ वर्षको उमेर हुँदा तत्कालीन सशस्त्र विद्रोही माओवादीको आक्रमणमा परी घाइते हुनुभएको थियो । नेता गिरिले कांग्रेस आफ्ना मूल सिद्धान्तबाट विचलित हुन्छ कि भन्ने चिन्ता लागेकामा अब युवा पुस्ताले खबरदारी गर्नुपर्ने सुझाव दिनुभयो । साथै उहाँले जनआन्दोलन र द्वन्द्वका घाइते तथा शहीद परिवारको गासबास व्यवस्थापनमा सरकार र राजनीतिक दलले विशेष ध्यान दिनपर्ने माग गर्नुभयो ।

बिहीबार महामन्त्रीमा निर्वाचित शर्माले सोही साँझ कांग्रेस संस्थापक नेता बिपी कोइरालालाई जेलमा राखिएको हालको सुन्दरीजल सङ्ग्रहालय पुगेर त्यहाँको माटो ढोग्नुभएको थियो । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दुई महामन्त्री पदका लागि भएको निर्वाचनको मत परिणाम बिहीबार मात्र आएको हो । कांग्रेसमा सभापतिपछि कार्यकारी मानिने महामन्त्रीमा छ उम्मेदवार रहेकामा गगनकुमार थापा र शर्मा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस