जेठ ३, काठमाडौँ। सत्तारुढ एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै समूह र विपक्षी दलका नेताहरूको विश्वास गुमाएका छन् । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा पाँच महिना सहकार्य गरेका विपक्षी दलहरूका नेतासँगै पार्टीभित्र आफ्नै समूहका सांसदको विश्वास गुमाएका हुन् ।
प्रतिगमनविरुद्धको आन्दोलनमा विपक्षी दलहरूसँग सहकार्य गर्दै आएका नेपालले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि त्यो विश्वास टिकाइरहन सकेनन् । प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई प्रतिगमनको संज्ञा दिँदै विपक्षी दलहरूले आन्दोलन गरेका थिए । त्यो आन्दोलनमा नेपालको पनि समर्थन थियो ।
खासगरी राष्ट्रिय सभासदस्यको उपनिर्वाचनमा विपक्षी दलको सहयोगमा नेपाल समूहले उम्मेदवार बनाएको थियो । एमालेको नेपाल समूह, विपक्षी कांग्रेस, माओवादी र जसपाले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा वाग्मती प्रदेशबाट डा। खिमलाल देवकोटालाई संयुक्त उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए । कांग्रेस, माओवादी र एमाले नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदसहित हेटौंडा–५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले मनोनयन दर्ता गराए । मनोनयन दर्ताका लागि कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, माओवादी वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले साथ दिएका थिए ।
देवकोटाको उम्मेदवारीको प्रस्तावक माओवादीका जम्कट्टेल र समर्थक कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले थिए । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी जसपा को उपेन्द्र यादव पक्षको संयुक्त गठबन्धनले देवकोटालाई उम्मेदवार बनाएको थियो । एमाले ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीको प्रस्तावक वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक वाग्ममती प्रदेश सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन् । एमालेका लागि कुन उम्मेदवार आधिकारिक भन्ने स्पष्ट भैसकेको छ ।
पार्टी विवाद मिलाउने क्रममा ओली १० सदस्यीय कार्यदल बनाएर अघि बढेपछि थापा नै आधिकारिक उम्मेदवार भएको स्पष्ट छ । उम्मेदवारी दिने क्रममा नेपाल पक्षलाई साथ दिएका कांग्रेस र माओवादीले आफ्नो उम्मेदवारी पनि दिन पाएनन् । यही जेठ ६ गते हुने उपनिर्वाचनमा कांग्रेस र माओवादीका मतदाताले कसलाई मतदान गर्ने भन्ने समस्या परेको छ ।
नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाएपछि विपक्षी दलहरूले सरकार निर्माणमा नेपालको सहयोग खोजेका थिए । तर नेपाल समूहले नयाँ सरकार निर्माणमा विपक्षीलाई सहयोग गरेन । नेपाल पक्षको सहयोगबिना विपक्षी दल कांग्रेस, माओवादी केन्द्रसहितको सरकार बन्न सक्ने अवस्था थिएन । नेपाल पक्षले उचित राजनीतिक कदम चाल्न नसक्दा बिहीबार साँझ संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले अध्यक्ष ओलीकै नेतृत्वमा सरकार गठन भयो । यो समाचार नागरिक दैनिकमा छ ।