फागुन ५, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक खरिद ऐनको प्रावधानले खोप खरिदका क्रममा बाधा अड्काउ देखिएपछि त्यो फुकाउने कार्य मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। मन्त्री त्रिपाठीका अनुसार अग्रिम भुक्तानी दिन सक्ने गरी बाधा अड्काउ फुकाऊको निर्णय गरिएको हो।
‘प्रतिडोज चार डलरका दरमा २० लाख डोज (मात्रा) खोप खरिद गरेर ल्याउने प्रक्रिया अघि बढेको छ’, मन्त्री त्रिपाठीले भने, ‘यो सहुलियत दर हो। यो दरमा संसारमा कहीं पनि खरिद गर्न पाइँदैन। भारत सरकारले पनि सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेडलाई पहल गरेपछि सस्तो दरमा खोप उपलब्ध भएको हो।
यही सहुलियत दरमा अलि धेरै परिमाण खोप खरिद गर्न चाहे पनि अहिले यति मात्र खरिद गर्ने सहमति भएको मन्त्री त्रिपाठीले सुनाए। उनका अनुसार कम्पनीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म खोप ल्याइदिने सहमति भएको छ।
सरकारले नेपाल राष्ट्र बैंकमार्फत केही रकम अग्रिम भुक्तानी गर्ने भएको छ। खोप खरिद गर्ने अधिकार स्वास्थ्य सेवा विभागलाई दिइएको छ।
विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यही खोप प्रयोग गर्न सिफारिस गरेको छ। भारतले यही खोप १० लाख डोज अनुदानस्वरूप नेपाललाई उपलब्ध गराएको थियो। आपत्कालीन प्रयोगका लागि उपलब्ध गराइएको उक्त खोप लगाउने अभियान माघ १४ गते सुरु भएको थियो।
सरकारले सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने निर्णय गरेको छ। ‘जनतालाई निःशुल्क खोप उपलब्ध गराउन गरेको प्रतिबद्धताको सुनिश्चिततातर्फको एक कदम अघि बढेको छ’, उनले भने। खोपको उपलब्धतापछि समुदायमा खोप अभियान अघि बढाइने भएको छ। समुदायमा फागुन २३ गतेदेखि लगाउने गरी गृहकार्य भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए।
कोभ्याक्सको खोप पनि आउँदै
कोभ्याक्सले उपलब्ध गराउने २२ लाख ५६ हजार डोज खोप पनि ल्याउने तयारी छ। खोप उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिंदै कोभ्याक्स अभियानका लागि एउटा निकाय गाभी ९ग्लोबल एलायन्स फर भ्याक्सिन०ले मन्त्रालयलाई पत्र पठाइसकेको छ।
विश्वभरि कोभिड–१९ विरुद्धको खोप धनी एवं गरिब मुलुकको पहुँचमा पुर्याउने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफ मिलेर बनेको साझा अभियान हो। यो अभियानअन्तर्गत नेपालमा पहिलो चरणमा २० प्रतिशत खोप वितरण हुने घोषणा गरिएको छ। २२ लाख ५६ हजार डोज पहिलो चरणमा नेपाल पठाउने तयारी भएको छ। मन्त्री त्रिपाठीले कोभ्याक्सको खोप पनि आउने प्रक्रियामा रहेको जानकारी दिए। यो समाचार आजको अन्नपुर्ण पोष्टमा रहेको छ ।