• २०८० चैत्र १६ गते शुक्रवार

बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत  सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा आज मोटरसाइकललाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ  । आफ्नो घरबाट सप्तरीको वीरेन्द्र बजारदेखि उत्तर चुरेजङ्गलमा अवस्थित शनि मन्दिरमा आज पूजा गर्न जाने क्रममा दुर्घटनामा हुँदा उनको मृत्यु भएको छिमेकी धिरज झाले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा परेर मोटरसाइकल चालक सोही ठाउँका ३२ वर्षीय अमरनाथ यादवको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स२प ३३३३ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना५ख ९००० नंको बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक चितवन मारी नगरपालिकाका ३७ वर्षीय सुरेश रिमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस