चैत ३, मोरङ । उपचार खर्च तिर्नसक्ने अवस्था नभएको भन्दै बाबु–आमाले छाडेर हिँडेका एक शिशुको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ । अस्पतालको एनआईसीयूमा भर्ना गरेपछि उपचाररत अवस्थामा जीवितै शिशु छाडेर बाबु–आमा चार दिनदेखि सम्पर्कविहीन बनेका थिए ।
शिशुको पनि उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले बाबुलाई भने नियन्त्रणमा लिएको छ । शव व्यवस्थापनमा गाह्रो भएको भन्दै मृतक शिशुका अभिभावक खोजिदिन अस्पतालले प्रहरीलाई आग्रह गरेको थियो । शिशुका बाबु मोरङको जहदा गाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले दिए ।
राजाकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते नवजात शिशु (छोरा) जन्माएकी थिइन् । प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा उनले बाटैमा शिशु जन्माएको प्रहरीले जनाएको छ । शिशुको स्वास्थ्य अवस्था खराब रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पतालमा भर्ना गरेका थिए ।
सञ्जीवनीले शिशुको अवस्था गम्भीर रहेको भन्दै तत्काल एनआईसीयूमा भर्ना गर्दा बचाउने सम्भावना रहने भनेपछि आफूहरुले थप उपचारका लागि नोबेलमा लगेको राजाले बताएका छन् । तर साथमा भएको १६ हजार रुपैयाँ भोलिपल्टै सकिएपछि उपचार खर्च तिर्नसक्ने अवस्था नभएकाले जीवितै शिशु अस्पतालमा छाडेर भाग्नु परेको उनले स्वीकार गरेका छन् । ‘पहिलो सन्तानका रुपमा जन्मिएको छोरालाई बचाउन सकिन्छ कि भन्ने आश थियो । तर साथमा भएको १६ हजार रुपैयाँ सकिएपछि अरु पैसा जुटाउन सकिएन,’ उनले भने, ‘त्यही भएकाले अस्पतालमा छाडेर बाबु–आमा नै हिँडियो । अस्पतालमा रहँदा सुत्केरी अवस्थाकी श्रीमतीको पनि स्याहार हुन नसकेपछि छोरो माया मार्नुपर्ने अवस्था बन्यो ।’
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले ज्याला मजदुरी गरेर परिवार धान्नुपर्ने बाध्यता रहँदा छोराको उपचार गर्ने पैसा जुटाउन नसकेको उनले सुनाए । सुकुम्बासी अवस्थाका उनको नाममा जग्गा जमिन छैन । उनको परिवार ऐलानी जग्गामा बनाएको झुप्रो घरबाट जीवन निर्वाह गरिरहेको छ ।
आवश्यक औषधि किन्ने पैसा नै नभएपछि छाड्नुबाहेक कुनै विकल्प नभएको राजाले सुनाए । उनका अनुसार फार्मेसीमा औषधि खरिद गर्दा र चिकित्सकले भने अनुसार प्रयोगशालामा विभिन्न परीक्षण गराउँदा साथमा भएको पैसा सकियो । त्यहाँमाथि सुत्केरी अवस्थाकी श्रीमतीको पनि अवस्था राम्रो नभएको उनले बताए । ‘चिकित्सकले पनि अवस्था गम्भीर रहेकाले बचाउन गाह्रो छ भने,’ राजाले भने, ‘बरु आमालाई चैँ बचाउनु पर्छ भनेर सुटुक्क अस्पतालबाट हिँड्यौँ ।’
तर पार्वतीको भने स्वास्थ्य बीमा गरिएको थियो । उपचारवापत लागेको खर्च बीमाबाट भुक्तानी हुन्छ भन्ने नबुझेका कारण बाबु–आमा नै शिशुलाई छाडेर हिँडेको पाइएको नोबेल अस्पतालका प्रशासकीय अधिकृत दिपेश राईले सुनाए । बाबु–आमाले बेबारिसे बनाएर हिँडे पनि एनआईसीयूमा राखेर उपचार गर्दै शिशुलाई बचाउने प्रयास गरिए पनि सम्भव नभएको जानकारी उनले दिए ।
छाडेर गएपछि खोजी गर्दा पनि अभिभावक फेला पार्न नसकिएको राईको भनाइ छ । तर सम्पर्कमा कोही आफन्त आइदिए मृत शिशु जिम्मा लगाएर पठाउन सकिने उनले बताए । शिशुको उपचार खर्च सबै बीमाबाटै भुक्तानी हुने जानकारी राईले दिए ।
शिशुका बाबु राजाले भने बीमामा उल्लेख भएको औषधि नपाइने भन्दै अस्पतालभित्र रहेको फार्मेसी (औषधि पसल) ले बाहिर किन्न पठाउने गरेको बताए । उनले बीमा गरिएका कारण पैसा तिर्न नपर्ने थाहा भए पनि अस्पतालभित्रका फार्मेसीले बीमाको औषधि नभएको भन्दै बाहिर खरिद गर्न पठाउने गरेकाले साथमा भएको पैसा सकिएर छोरो माया मार्नु परेको गुनासो गरे ।
सुत्केरी अवस्थाकी उनकी श्रीमती पार्वती भने घरमै आराम गरिरहेकी छन् । धनपालथान गाउँपालिकाको कर्सिया माइती भएकी पार्वती र राजाबीच दुई वर्षअघि मागी बिहे भएको थियो ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रहेको छ ।