माघ ३, सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ५ मा भएको आगलागीमा डेढ करोड बढी क्षतिको अनुमान गरिएको छ ।हरिनगरको बशन्तपुरमा पर्ने बंगाली टोलमा भएको आगलागीमा स्थानीय ६ परिवारको घर गोठ र चौपाया जलेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हिजो साँझ ६ बजे लागेको आगो राती ९ बजे नियन्त्रणमा आएको थियो । रमेश मण्डलको टिनको छानो भएको घरमा साँझवत्ती बालिएको स्थानबाट आगो सल्केको बताइएको छ । सुनसरी प्रहरीका अनुसार आगलागीमा परी पृथ्वीचन्द्र मण्डल, मोहन मण्डल, पशुपती मण्डल, बिबेक मण्डल र तपन मण्डलको घर सहित गाईगोठ, अन्नपात र लत्ताकपडा सहित घरमा भएका सर–सामान पूर्ण रुपमा जलेको छ ।
आगलागीमा साइकल, थ्रेसर जस्ता सामान जलेका छन् भने खसीबाख्रा र परेवा समेत मरेका छन् । उक्त आगलागी स्थानीय सहित सुरक्षाकर्मीले ५ वटा दमकलको सहायतामा नियन्त्रणमा लिएका थिए ।