• २०८० चैत्र १६ गते शुक्रवार

फलदायी बन्यो एमाले–जसपा शीर्ष बार्ता

दुई पार्टीका नेताहरुबीचको छलफल सकारात्मक
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ०२,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच भेटबार्ता भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले खवर२४नेपाललाई दिनुभएको जानकारीअनुसार उहाँहरुबीच यसअघिकै छलफलको निरन्तरता स्वरुप भेटवार्ता भएको हो । ‘विभिन्न चरणमा छलफल भइरहेको छ, त्यही क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो,’ एमाले प्रचार बिभाग उपप्रमुखसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभयो । उहाँका अनुसार भेटवार्ताका क्रममा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । दुई पार्टीका नेताहरुबीचको छलफल सकारात्मक रहेको थापाले जानकारी दिनुभयो ।

जसपाले सरकारले आफूहरुको माग पूरा गरे समर्थन गर्ने बताउँदै आइरहेको छ । जसपा अध्यक्ष ठाकुर, लक्ष्मणलाल कर्ण लगायत नेताहरु सरकारसँग सहकार्य गर्न सकिने पक्षमा हुनुहुन्छ । जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत माग पूरा हुनुपर्ने प्रस्ताव सरकारसँग राखेको छ । प्रधानमन्त्री ओलीबाहेक अरु कसैले पनि आफूहरुका माग पूरा गर्न नसक्ने अडान जसपा अध्यक्ष ठाकुरले पटक–पटक दोहोर्याउँदै आउनु भएको छ । जसपाले सरकारको नेतृत्व नगर्ने पनि बताइसकेको छ । सत्ता सहकार्यबारे जसपाले ठोस निर्णय नदिएपछि कांग्रेस र माओवादी केन्द्र पनि अलमलमा छन् । तर जसपाकै नेताद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई भने ओली सरकारसँग सहकार्य गर्न नसकिने अडानमा देखिनुभएको छ ।

भेटवार्तामा उपप्रधानमन्त्री एवं एमाले महासचिव इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राज भट्टराई सहभागी हुनुहुन्थ्यो भने जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायत नेता सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस