• २०८१ चैत्र १० गते सोमवार

खुल्न थाले काठमाडौंका संग्रहालय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौै २९, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका संग्रहालय खुल्न थालेका छन्। राजधानीका नारायणहिटी दरबार संग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय संग्रहालय, मुद्रा संग्रहालय र हनुमानढोका दरबार संग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो। संग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ।

नारायणहिटी दरबार संग्रहालय र गणतन्त्र स्मारक हप्तामा ६ दिन खुला हुन्छ। बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ। मंगलबार भने आधा दिन खुला गरिने गरेको संग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिए।

हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ। दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ। दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ।

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढ वर्षदेखि काठमाडौँ महानगरपालिकाले संग्रहालयलाई दिएको छैन। महानगरसँग सम्झौता भएअनुसार तीन करोड ५० लाख रुपैयाँभन्दा बढी रकम लिन बाँकी रहेको हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिए। महानगरले रकम नदिएपछि  संग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ। संग्रहालय प्रवेश गर्दा अब विदेशीले ३०० र नेपालीले ३० रुपैयाँको टिकट काट्नुपर्छ। महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको एक हजार रुपैयाँ शुल्क विदेशीसँग लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस