जेठ ३१, तनहुँ। प्रसिद्ध धार्मिकस्थल जाने छाब्दी मार्गदेखि उत्तरतर्फ रहेको चारकुने–भदु्रडाँडा, मुसेखोला हुँदै पृथ्वीराजमार्ग जोडिने ट्र्याक खोलेको करिब ४३ वर्षपछि कालोपत्रको शुरुआत गरिएको छ ।
व्यास नगरपालिका–१ चारकुनेस्थित छाब्दी मार्गबाट राजमार्ग जोडिने सडक सदरमुकाम दमौलीबाट करिब डेढ किलोमिटरको दूरीमा रहे पनि बत्तीमुनिको अँध्यारो जस्तै बन्दै आएको थियो । विसं २०३५ मा ट्र्याक खोलिएको सो मार्गको दूरी करिब पाँच किलोमिटर रहेकाले पक्की नालासहित कालोपत्र गर्न शुरु भएपछि स्थानीयबासी खुशी भएका छन् ।
हिउँदमा धुलो र वर्षायाममा हिलोले सास्ती खेप्नुपरेको चारकुनेबासीले त्यसको अन्त्य हुने विश्वास गरेको स्थानीयवासी एवं नेकपा एमाले केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले बताए । उक्त मार्गमा कालोपत्र गर्न रु १५ लाख बजेट निकासाका लागि केन्द्रिय सदस्य श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
“यो मार्ग पहिल्यै कालोपत्रका लागि शुरुआत हुनुपर्ने हो”, उनले भने, “जनप्रतिनिधिले चासो दिएर काम नगरिदिँदा अलपत्र बन्दै आएको थियो ।” हाल कालोपत्र गर्न लागिएको सडकमा आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण गरी वडा कार्यालयलले सेवा प्रवाह गर्दै आएको छ ।