फागुन २, काठमाडौँ। बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन् ।
‘घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन । चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने । सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए । ‘हामी तुरुन्तै दोषी पत्ता लगाउर्छौं, सार्वजनिक गर्छौं’, उनले भने ।
प्रहरी भागरथीको बलात्कार हत्यामा संलग्न व्यक्तिका बारेमा निचोडमा पुगे पनि तथ्य र प्रमाण जुटाउन बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । ‘प्रहरी एक निचोडमा पुगिसकेको छ, त्यसलाई पुष्टि गर्न केही तथ्य जुटाउने क्रममा हामी छौं’, उनले भने, ‘वास्तवमै अनुसन्धान साँघुरो घेरामा पुगेको छ । तथ्यले पुष्टि गरेपछि हामी पक्राउ गर्छौं ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।