फागुन २९, काठमाडौं । नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउदैं वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।
भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई बोलाइएको छ । जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ ।
अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको यो समूहको दाबी छ । सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार नै नभएको खनाल–नेपाल समूहको दाबी छ ।