भदौ २७, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।
आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् । एमाले सांसदको चर्को नाराबाजी र सांघातिक आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सभामुख सापकोटाको सुरक्षामा तीनजना मर्यादापालक खटाइएको हो ।