असार २८, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अदालतको फैसला र त्यसपछिको सम्भावित अवस्थाको बारेमा छलफल गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सर्वोच्च अदालत राजनीतिक विषयमा प्रवेश गरेको र क्षेत्राधिकार मिचेर फैसला गरेकोमा बैठक एकमत भएको छ । अदालतको फैसला आपत्तिजनक भए पनि कार्यान्वयन गर्नुपर्ने विषय बैठकमा उठेको एमाले नेता एवम् पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
सरकार गठनका विषयमा संविधानमा आफ्नै व्यवस्था भएपनि यसको देशमा अर्को अभ्यास सुरु भएको उहाँले बताउनुभयो । सर्वोच्चको फैसला अप्रिय र त्रुटिपूर्ण रहेपनि विधिविधान र फैसलालाई आफूहरुले मान्ने पनि उहाँले बताउनुभएको छ । भोलि बस्ने स्थायी कमिटीको बैठकले यसबारे औपचारिक धारणा निर्माण गर्ने एमाले प्रवक्ता ज्ञवालीले बताउनुभएको छ ।