• २०८१ चैत्र ३ गते सोमवार

बेरोजगारहरुको सूचीमा ७ लाख ४३ हजारभन्दा बढीको नाम दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ३०, काठमाडौं। नोबेल कोरोना महामारी फैलिए यता १६ माघसम्म ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगारहरुको सूचीमा नाम दर्ता गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार कोभिड–१९ महामारी फैलिएयता १६ माघसम्म ७ लाख ४३ हजार ५ सय ३ जनाले बेरोजगारको सूचीमा नाम दर्ता गरेको देखिएको छ ।

मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेका अनुसार बेरोजगारको सूचीमा नाम दर्ता भएकाहरुमा स्वदेशमा उत्पादन भएका बेरोजगार र विदेशबाट फर्किएका सबै नेपाली नागरिकहरु रहेका छन् । न्युज २४ नेपाल टेलिभिजनसँगको कुराकानीमा उनले भने, ‘मन्त्रालयद्वारा जारी साप्ताहिक रिपोर्टमा राखिएको बेरोजगारहरुको सूची दर्ता स्वदेशमा उत्पादन भएका र विदेशबाट फर्किएका बेरोजगार नेपाली नागरिकको संख्या हो ।

हरेक हप्ताको शुक्रबार मन्त्रालयले साप्ताहिक प्रगति विवरण निकाल्दै आएको छ । तर, यस हप्ताका विदाका कारण आइतबारमात्र प्रगति विवरण निकालिने प्रवक्ता पाण्डेले जानकारी दिए । नाम दर्ता भएका बेरोजगारमध्ये कतिले रोजगारी पाए भन्ने सन्दर्भमा यकिन जानकारी आइनसकेको उनले बताएका छन् ।

मन्त्रालयको साप्ताहिक रिपोर्टअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २२ माघसमम १२ हजार ७ सय २९ जनाले रोजगारी पाएका छन् । माघ १६ सम्म ५ हजार ७ सय २० र १६ देखि २२ सम्मको एक हप्ताको अवधिमा ७ हजार २९ जनाले गरी हालसम्म कुल १२ हजार ७ सय २९ जनाले रोजगारी पाएको साप्ताहिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस