• २०८१ फाल्गुन २ गते शुक्रवार

एमालेको नेतृत्व चयन सहमतिमै, केन्द्रीय सदस्यमा निर्वाचन हुन सक्छ : प्रदीप ज्ञवाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, चितवन । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १० औँ महाधिवेशनले  सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरेका छन्। बिहीबार यहाँ पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन्।

ज्ञवालीले भने, ‘अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ। केन्द्रीय सदस्यमा धेरै साथीहरू आकांक्षी भएकाले मतदान हुन्छ।’

केन्द्रीय सदस्य र अन्य कुनै एक-दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो। महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्र स्थलसमेत अनुगमन गर्न आएको बताए।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उनले भने, ‘२७ गते देशभरि  र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ।’

महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको उनको भनाइ छ।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै  उनले भने, ‘पालिका र जिल्लामा त्यस्तो समस्या छैन। केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ। यो समाधान हुँदै जान्छ।’

पार्टी आज एकताको मनोविज्ञान र १० बुँदेपछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै गराउँदै अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन हुने स्पष्ट पारे। रासस

प्रतिक्रिया दिनुहोस