साउन, २७ काठमाडौं । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्ममा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
उनले नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन्। मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत हुनुअघि विपक्षी गठबन्धनले प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव पेश गरेका थिए।
अविश्वास प्रस्तावमा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा संसदीय दलका नेता कुलचन्द्र केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ। विपक्षी गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकजुट भएका छन्।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ।
विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन्। सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन्।