• २०८० चैत्र १६ गते शुक्रवार

ग्वार्कोमा फ्लाइओभर निर्माणको प्रक्रिया शुरु, कस्तो बन्नेछ ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

काठमाडौँ : सरकारको लगानीमा पहिलोपटक ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । काठमाडौँका बढी ब्यस्त सडकमा हुने सवारी जाम कम गर्न सरकारले उपत्यकाका विभिन्न चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माणका लागि अध्ययन गरेकामा पहिलोपटक ग्वार्कोमा निर्माणको प्रक्रिया अघि बढेको हो ।

आठ लेन रहेको चक्रपथको बीचको चार लेनलाई माथि उचाल्न लागिएको सडक विभाग गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । बालकुमारीतर्फबाट आएका सवारी साधन चार लेन उठेर ग्वार्कोतिर लाग्ने र अर्को चार लेन तल (अहिलेको भएको ठाउँमा) हुने केन्द्रका प्रमुख डा. विजय जैसीले बताए । ‘फ्लाइओभर’को जम्मा लम्बाइ झण्डै ५०० मिटर र उचाइ छ मिटर हुनेछ । उनले भने, “माथि चढ्न र झर्नका लागि र्याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ ।”

सरकारले गत आर्थिक वर्षमा उपत्यकामा व्यस्त सात चोकमा यातायात आवागमन सजिलो बनाउन अध्ययन गर्ने नीति तथा कार्यक्रममा समेटेको थियो । केन्द्रले ग्वार्को, सातदोबाटो र एकान्तकुना गरी तीन चोकमा अध्ययन गरेको केन्द्रका निर्देशक डा. जैसीले बताए । परार्मशदाताबाट पहिलो चरणको अध्ययन भएपछि यसलाई आधार मानेर ग्वार्कोमा निर्माण अघि बढाइएको उनले बताए। ती तीन ठाउँमध्ये पनि सबैभन्दा सजिलो हुने देखिएकाले अहिले ग्वार्को छानिएको उनको भनाइ छ । उनले भने, “फ्लाइओभर अहिले नेपालका लागि नौलो हो ।”

विभागले चक्रपथका चोक–चोकमा ‘फ्लाइओभर’ वा ‘अण्डरपास’ निर्माण गरेर कुनै पनि ठाउँमा सवारी साधन नरोकिने अवधारणा बनाएको छ । विमानस्थल झरेर कलङ्की पुग्दा कतै पनि नरोकिने गरी जान सक्ने बनाउने दीर्घकालीन योजना रहेको केन्द्रले जनाएको छ ।

‘फ्लाइओभर’ बिएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ । सडकको माथिल्लो भागमा चक्रपथतर्फ जाने सवारी साधन गुडिरहँदा तल्लो भाग (मुख्य सडक)मा मङ्गलबजारतर्फबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ सवारी साधन चल्न सक्ने निर्देशक डा. जैसीले बताए । उनले भने, “दुवैतर्फ सवारी साधन नरोकिई चल्न सक्नेछन् ।”

उपत्यकामा ‘फ्लाइओभर’ निर्माणका लागि अर्थ मन्त्रालयले चालु आवमा ३४ करोड बजेट सुनिश्चित गरेको छ । ठेक्का प्रक्रियामा गएपछि निर्माण कम्पनीले त्योभन्दा कति कम रकममा आवेदन दिन्छन् त्यसैका आधारमा यसको बजेट यकिन हुने उनले बताए ।

सरकार आफ्नै लगानीमा पहिलोपटक निर्माण गर्न लागेको भए पनि यसमा नेपाली निर्माण व्यवसायीले नै काम गर्ने गरी योजना बनाइएको छ । अहिलेसम्म ‘फ्लाइओभर’ निर्माणको अनुभव नेपाली व्यवसायीसँग नभए पनि गाडी हिँड्ने धेरै पुल बनाइसकेकाले जिम्मेवारी दिन लागिएको निर्देशक डा. जैसीले बताए । नेपाली व्यवसायीले मुग्लिन पुल, धोबीखोला पुलललगायतका ठूला र जटिल ठूला पुल बनाएर आफूलाई प्रमाणित गरिसकेको उनको भनाइ छ । उनले भने, “नेपालीले सिक्नुपर्छ भन्ने सोचले पनि नेपाली व्यवसायीलाई नै दिन लागिएको हो ।”

सुरु भएको दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गर्ने योजना बनाइएको छ । संरचना निर्माण गर्ने अवधिमा सडकमा यातायात आवागमन अवरुद्ध नहोस् भन्ने कुरामा ध्यान दिइएको निर्देशक डा. जैसीले बताए । उनका अनुसार ठेक्का सम्झौता हुँदा कागजातमा निर्माण कम्पनीले निर्माणसँगै ट्राफिक व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख हुनेछ । निर्माणको अवधिमा मुख्य लेनभन्दा बाहिर रहेको ‘सर्भिस लेन’ प्रयोग हुनेछ । यहाँको चाप कम गर्न सकेसम्म सवारी साधन अन्यत्रबाट अर्कातर्फ मोड्ने (डाइभर्ट) गर्नुपर्ने उनले बताए । जगको काम गर्दा भने सडक अवरुद्ध हुने देखिएको छ । माथिल्लो भागमा रहने मुख्य संरचना (सुपर स्ट्रक्चर) अन्यत्रबाट बनाएर बोकेर लगेर राख्न खोजिएको छ । उनले भने, “कङ्क्रिटको भए पनि बाहिर बनाएर क्रेनले उचालेर राखिने गरी डिजाइन रहेको छ ।”

यस वर्ष ग्वार्कोमा निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेकामा आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना छ । चीन सरकारले झण्डै तीन वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएको हो । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै केही समय पहिले मात्रै आकाशेपुल निर्माण गरेको छ । ती स्थानमा यात्रु हिँड्न बनाइएका आकाशेपुल भत्काउन नपर्ने गरी ‘फ्लाइओभर’ निर्माण गरिने विभागले बताउँदै आएको छ ।

सरकारले चालु आवमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि ‘फ्लाइओभर’ नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारको सहयोगमा कोटेश्वर र बानेश्वर तथा जापान सरकारको सहयोगमा थानकोटमा निर्माण गर्ने गरी छलफल भइरहेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ को सङ्ख्या बढ्ने देखिएको छ ।

काठमाडौँ उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोकमा जापान अन्तर्रााष्ट्रिय सहयोग नियोग ९जाइका०ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ । बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्षपहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले चोकमा संरचना निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

त्यस्तै नेपालको सडक यातायातको इतिहासमा नेपालकै पहिलो आधुनिक सुरुङमार्ग निर्माण हुँदा त्यससँगै ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण हुँदैछ । नागढुङ्गामा सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । विसं २०७६ असोजमा सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच आयोजना ४२ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण गरिने गरी डिजाइन भएको छ । चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म ‘अण्डरपास’ निर्माण गरेको थियो । यो नै नेपालमा निर्माण भएको पहिलो ‘अण्डरपास’ हो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो ।

कस्तो बन्नेछ ‘फ्लाइओभर’ ?

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ‘फ्लाइओभर’को उचाइ ६ मिटर हुने केन्द्रले जनाएको छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिनेछ । त्यतातर्फ २८० मिटर लम्बाइको ¥याम हुने र सातादोबाटोमा झर्न १७५ मिटर लम्बाइको र्याम हुने बताइएको छ । सुपर स्ट्रक्चर ३५ मिटर हुने ‘फ्लाइओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट गाडी जानेछन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस